ट्रमाका पूर्व निर्देशक डा पौडेलविरुद्ध अख्तियारले छानबिन थाल्यो

NAWALPUR TIMES

ट्रमाका पूर्व निर्देशक डा पौडेलविरुद्ध अख्तियारले छानबिन थाल्यो
santosh poudel trauma centre

काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरका पूर्व निर्देशक एवं नेपाल चिकित्सक संघका अध्यक्षका उम्मेदवार डा. सन्तोष पौडेलविरुद्ध परेको अनियमितताको उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।अख्तियारले उनका बारेका सबै कागजात उपलब्ध गराउन वीर अस्पताललाई पत्रसमेत पठाएको अस्पताल स्रोतले जनाएको छ । सबै कागजात पठाउन १० दिनकोसमेत दिइएको स्रोतको दाबी छ ।

पौडेल अहिले जारी रहेको नेपाल चिकित्सक संघका अध्यक्षका उम्मेदवारसमेत हुन् । संघको निर्वाचन जिल्लाहरुमा सकिइसकेको छ भने काठमाडौं उपत्यकाको मतदानको कार्यक्रम बिहीबारदेखि तीन दिनको रहेको छ ।

डा.पौडेलमाथि एमएस अर्थोपेडिक अध्ययन गर्ने क्रममा तत्कालीन उपकुलपतिसँग मिलि सेवा अवधि नपुगीकनै अध्ययन गरेको र ट्रमा सेन्टरको निर्देशक रहँदा कर्मचारी नियुक्तिमा आर्थिक लेनदेन गरी नियुक्ति गरेको, सी आर्म खरिद, डेक्सा मेसिन, एच डी माइक्रोस्कोप, एम्बुलेन्स तथा क्यान्टिन टेण्डर गर्दा करोडौँ रुपैयाँ अनियमितता गरेको आरोप छ ।

 

२०७७ साल फागुन २ गते प्रधानमन्त्री कार्यालय, अख्तियार, राष्ट्रिय सतर्कता केन्द्र र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमासमेत उनीविरुद्ध उजुरी परेको थियो । सो उजुरीपछि सोही महिनाको १३ गते नै स्वास्थ्य मन्त्रालयले प्रमुख जनस्वास्थ्य प्रशासकको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति पनि गठन गरेको थियो ।

सो समितिले उल्लेखित विषयहरुमा अनियमितता देखिएको भन्दै माथिल्लो निकायबाट छानबिन हुनुपर्ने राय दिएको थियो । सो पत्र अख्तियारमासमेत पठाएको थियो ।

तर हालसम्म उनीविरुद्ध कुनै कारबाही नभएपछि राष्ट्रसेवक कर्मचारीहरुले गत पुस २४ गते पुनः प्रधानमन्त्री कार्यालय, अख्तियार, सतर्कता केन्द्र, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य मन्त्री, स्वास्थ्य राज्यमन्त्री र सम्पत्ति शुद्धीकरण विभागमा छानबिन तथा कारबाहीको लागि निवेदन पेश गरेका छन् ।

डा. पौडेलले गत २०७७ मंसिर १३ गते अर्थोपेडिक सर्जरी इन्टुमेन्ट एरिना इन्टरनेशनललाई, स्पाइन सर्जरी इस्टुमेन्ट एरिना इन्टरनेशनललाई, हेड एण्ड माइक्रोसर्जरी इन्स्टुमेन्ट बायोमेड इन्टरनेशनलाई एनेस्थेसिया मेसिन म्याक्सिम इन कोअपरेशनलाई, सिआर्म मेसिन म्याक्स मेडिटेक सिस्टमलाई, हाई एण्ड अप्रेटिङ्ग माइक्रोस्कोप इष्ट वेस्ट कन्सर्नलाई, डक्सा मेसिन सन्जिवनी इन्टरपाइजेजलाई, ओटी लाइट म्याक्सिम इन कोअपरेशनलाई, पोर्टवल मिडियो एक्सरे म्याक्स मेडिटेकलाई सम्झौता गरी खरिद गरेका थिए ।

सो सामान खरिद गर्दा आवश्यकता पहिचान, स्पेसिफिकेसन, अनुमानित लागत, टेण्डर स्वीकृत, बोलपत्र मुल्याङ्गन, समिति गठन गर्दा सबैमा आफू निटक संयोजक र सदस्य राखी नियम विपरीत टेण्डर स्वीकृत गरी करोडौँ अनियमितता गरेको आरोप छ ।

२०७७ साल जेठ २८ गते प्रकाशित क वर्गको एम्बुलेन्स खरिदमासमेत डा. पौडेलले क वर्गको एम्बुलेन्स खरिद नगरी ठूलो अनियमितता गरेको आरोप छ ।

फोटोन टर्नल्याण्ड एम्बुलेन्स, इन्जिन नम्बर ७६०३०४०७ र च्यासिस नम्बर एलभीएभीटूके वीवी ४ एलसी ०६०५१४ नम्बरको उल्लेखित एम्बुलेन्स मेउ भिर्दी कमरसियल भेहकल प्रालिलाई ८९ लाख ९५ हजार रुपैयाँमा मा खरिद गरी आयात गरेको आरोप उनीमाथि छ ।

एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७३ विपरीत स्पेसिफिकेसन नमिलिकन खरिद गरिएको थियो । त्यस्तै ०७७ साल साउन ३ गते ट्रमा सेन्टरको क्यान्टिन कफिसप भन्दै सूचना प्रकाशित गरेको तर सम्झौता गर्दा सुनिल क्यान्टिन तथा कपडा खुद्रा पसल थापाथली काठमाडौंलाई पूरै क्यान्टिन सञ्चालन गर्ने गरी सम्झौता गरी अनियमितता गरेकोसमेत दाबी गरिएको छ ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology