जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु

NAWALPUR TIMES

जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु
accident sPuNXpyuua 1

कावासोती । सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। अन्य ३२ जना घाइते भएका छन्। घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार जिल्लाको तौथलीमा जन्ती बोकेको बस आज बिहान करिब ७ः ३० बजेतिर दुर्घटना भएको हो।

प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ स्थित पिस्कर जान लागेको  बा ४ ख ५६१६ नम्बरको जन्ती बोकेको बस दुर्घटनामा परेको बताए।

मृत्यु हुनेमा अन्दाजी ७०, ५० र २० वर्षका पुरुष रहेको र उनीहरूको सनाखत हुन बाँकी रहेको पनि उनले बताए।

प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार गम्भीर घाइते ७ जनालाई सिन्धु सदाबहार अस्पताल लगिँदै छ भने अन्य घाइते सामान्य उपचार गराएर फर्किएका छन्। घाइते हुनेहरूको नाम खुल्न सकेको छैन।

उनले बाटो निकै साँघुरो र ५० देखि ५५ जना बसमा सवार भएका कारण अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको पनि बताए।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology