चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा तीन लाख बढि पर्यटक, ३० करोड बढि राजस्व संकलन

NAWALPUR TIMES

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा तीन लाख बढि पर्यटक, ३० करोड बढि राजस्व संकलन
chitwan nikunja

सन्जय भट्टराई, कावासोती । एक वर्षको अवधिमा तीन लाख बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन् । नेपाली, सार्क मुलुक र अन्य विदेशी मुलुकका गरेर एक वर्षको अविधमा ३ लाख ६ हजार ८ सय ३७ जना पर्यटकले निकुञ्जको अवलोकन गरेका हुन् ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी गणेश तिवारीले एक वर्षको अवधिमा निकुञ्ज भित्रिएका तीन लाख बढी पर्यटकबाट ३० करोड ५७ लाख १८ हजार ४ सय रुपैयाँ राजस्व संकलन गरिएकोे जानकारी दिए । उनका अनुसार एक वर्षको अवधिमा १ लाख ७६ हजार ३ सय १६ नेपाली, सार्क मुलुकका ३६ हजार ४ सय ७१ र ९४ हजार ५० अन्य विदेशी मुलुकका पर्यटकले निकुञ्जको भ्रमण गरेका हुन ।

गत आवमा अघिल्लो आवको तुलनामा तेस्रो मुलुकका पर्यटकको यहाँ आगमन बढेको पाइएको छ । निकुञ्जमा पर्यटकको आगमन बढेसँगै राजस्वमा समेत वृद्धि भएको हो । अघिल्लो आव ०७९/८० मा राजस्व रकम रु २२ करोड ९४ लाख रहेको थियो । आव २०७८/७९ मा एक लाख ९० हजार चार सय ५८ पर्यटक निकुञ्ज घुम्न आउदाँ रु ११ करोड ४९ लाख ९७ हजार चार सय १३ राजस्व सङ्कलन भएको थियो । यसैगरी आव २०७७/७८ मा ९८ हजार नौ सय २८ पर्यटक घुम्न आउदाँ रु तीन करोड ५० लाख ८३ हजार तीन सय ७६ राजस्व सङ्कलन भएको थियो । आव २०७६/७७ मा रु १९ करोड ९२ लाख ५५ हजार राजस्व सङ्कलन भएको थियो ।

निकुञ्जमा गैँडा, पाटेबाघ, सोँस, गौरीगाई, काठेभालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लंगुरलगायत ६० भन्दा बढी किसिमका स्तनधारी जंगली जनावर पाइन्छ । यस्तै, घडियाल गोही, मगर गोही, अजिंगरलगायत सरीसृप तथा उभयचर, बसाइँ सरी आएका र रैथाने गरी ५४६ भन्दा बढी जातका चराचुरुंगी र विभिन्न किसिमका किराफट्यांग्रा यहाँ पाइन्छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology