चरा अवलोकनका लागि नवलपुरमा नयाँ ट्रेल

NAWALPUR TIMES

चरा अवलोकनका लागि नवलपुरमा नयाँ ट्रेल
271584452 10210646197508388 908760006909513821 n

कावासोती । चरा अवलोकनका लागि नेपाल विश्वसमुदायमा परिचित छ। नेपालमा ८०० भन्दा बढी प्रजातिका चरा पाइन्छन्। हिउँद छल्न नेपाल आउने चरा पनि उत्तिकै छन्। यिनै चराको अवलोकन गर्न संसारभरका पर्यटक आउने गरेका छन्।

चरा अवलोकन अर्थात् ‘बर्ड वाचिङ’ का लागि नवलपुरमा नयाँ ट्रेलको निर्माण गरिएको छ। चरा अवलोकनका लागि निर्माण गरिएका तीन वटा नयाँ मार्गमा बोटिङ ट्रेल, देवचुली ट्रेल र नमूना सामुदायिक ट्रेल छन्। पोखरा पन्छी समाजले गत माघमा दोस्रो नेपाल बर्ड फेयर गरेको थियो। जसमा चरा अवलोकनका लागि ४१ प्रकृति पथप्रदर्शक (नेचर गाइड)लाई तालीम पनि दिइएको थियो। त्यही क्रममा पन्छी समाजले नवलपुर क्षेत्रमा नयाँ ट्रेलको निर्माण गरी प्याकेज तयार पारेको हो।

प्रकृति र चराको संरक्षण गर्दै नवलपुर क्षेत्रमा पर्यटनको सम्भावनालाई अघि बढाउन नयाँ ट्रेलको निर्माण गरिएको हो ।  नयाँ ट्रेल अन्तर्गत बोटिङ ट्रेलमा नारायणी नदीमा डुंगामा यात्रा गरिनेछ। तीन वटा ट्रेलमा पहिलो पिठौली-घाटदेखि नमूना सामुदायिक वन, दोस्रोमा जमुनाघाटदेखि अमलटारी घाट र तेस्रोमा रत्नापुरादेखि भुताहा पोस्टसम्म छ। यस मार्गमा डुंगा यात्रासँगै १४ भन्दा धेरै थरीका हाँस र १० प्रजातिका जलपन्छी अवलोकन गर्न सकिन्छ। यो ट्रेल पूरा गर्न दुई घण्टाको डुंगायात्रा, २५ मिनेटको पैदलयात्रा र २५ मिनेटको जीप सवारी गर्नुपर्छ। यसका लागि एक जनाको १२ हजार र पाँच जनाको समूहमा १८ हजार रुपैयाँ लाग्नेछ।

दोस्रो, देवचुली कावासोतीबाट जीपमा यात्रा शुरू हुन्छ। डेढ घण्टामा पोखरी पुगेर तीन घण्टाको पैदलयात्रा पूरा हुन्छ। यो मार्गमा नेपालमा मात्रै पाइने काँडे भ्याकुर, थुप्रै प्रजातिका चाँचर, कालिज, घेघर घाँसे फिस्टो, नहिकुटी गौंथली लगायत चरा अवलोकन गर्न सकिन्छ। देवचुलीको चुचुरो पुगेर फर्किएपछि यात्रा सकिन्छ। त्यही दिनमा फर्कन सकिने वा होमस्टेमा रात बिताउन सकिने पनि व्यवस्था छ। यो ट्रेलमा एक जनाका लागि १४ हजार रुपैयाँ तथा आठ जनाको समूहका लागि २० हजार रुपैयाँको प्याकेज छ।तेस्रो, नमूना सामुदायिक ट्रेलमा विश्वकै पहिलो सामुदायिक व्यवस्थापनमा सञ्चालित जटायु रेस्टुरेन्टबाट यात्रा शुरू भएर कृष्णसार सामुदायिक वनको गेटमा पुगेर टुंगिन्छ। यस यात्रामा पाँच घण्टाको पैदलयात्रा हुन्छ। यस मार्गमा आठ प्रजातिका गिद्ध, खर मजुर, कालिकण्ठे, तोरीगाँडा, ठुलो कस्दरी, खोया हाँस, माछाकुल, झिली लगायत प्रजातिका चरा अवलोकन गर्न सकिने प्रकृति पथप्रदर्शक नवलपुरका अध्यक्ष केवल चौधरीले बताए ।

थप अन्तर्वार्ता

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology