ओमानविरूद्ध नेपालको ५६  रनको जित

NAWALPUR TIMES

ओमानविरूद्ध नेपालको  ५६  रनको जित
461950790 963288312494216 7797569949390980704 n

कावासोती । क्यानडा टी-२० सिरिजअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई पराजित गरेको छ।

क्यानडाको ओन्टेरियोमा बुधबार राति सकिएको खेलमा नेपालले ओमानमाथि ५६  रनको जित निकाल्यो।

नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको ओमान १७.५ ओभरमा १०१ रनमा अलआउट भयो।

जितसँगै नेपालले चार अंक जोडेको छ भने अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानको क्यानडाको पनि चार अंक छ। रनरेटमा क्यानडा पछि छ। तेस्रो स्थानको ओमानको दुई अंक छ। अब अन्तिम खेलमा ओमानले क्यानडालाई हराए नेपालको सिरिज जित्ने सम्भावना हुनेछ।

बुधबार ओमानका लागि जीसन मक्सुदले ३५ रन र अकिब इल्यासले २२ रन जोडे।

बलिङमा नेपालका कुशल भुर्तेलले ३ विकेट लिए। उनले १.५ ओभरमा १० रन मात्र खर्चिए। सन्दीप लामिछाने, रोहित पौडेल र रिजन ढकालले २-२ विकेट लिए।

त्यसअघि नेपालले ओमानविरूद्ध ७ विकेटको क्षतिमा १५७ रन जोड्यो।

टस जितेको ओमानले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरे। उनले नटआउट ५६ रन जोडे। रोहितले ४४ बलमा २ चौका र ४ छक्का प्रहार गरे। सोमपाल कामी ३ रनमा नटआउट रहे।

त्यसअघि सुरुवाती पाँच बल खेलेका ओपनर अनिलकुमार साह एक चौका र एक छक्का प्रहार गर्दै ११ रनमा आउट भए।

अर्का ओपनर आसिफ शेखले १४ बलमा १६ रन र देव खनालले १८ बलमा १८ रनको योगदान गरे। कुशल मल्ल २६ बलमा १९ रन जोड्दा कुनै बाउन्ड्री प्रहार नगरी आउट भए।

गुल्सन झा २ रन र दीपेन्द्रसिंह ऐरी १ रनमै आउट भएका थिए। कुशल भुर्तेलले ४ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ११ रन जोड्न सके।

बलिङमा ओमानका फयज बटले ३ विकेट लिए। उनले चार ओभरमा २३ रन रन खर्चिए।

सिरिजमा नेपालले घरेलु टोली क्यानडाविरूद्धका दुवै खेल गुमाउँदा ओमानलाई दुवै खेलमा हरायो।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology