एक लाख १८ हजार बिरुवा निःशुल्क वितरण गर्दै

NAWALPUR TIMES

एक लाख १८ हजार बिरुवा निःशुल्क वितरण गर्दै
1688033031137

कावासोती । नवलपरासीको बर्दघाट सुस्तापूर्वस्थित डिभिजनल वन कार्यालयले ३२ प्रजातिका एक लाख १८ हजारभन्दा बढी बिरुवा निःशुल्क वितरण गर्ने भएको छ ।

कावासोती र गैँडाकोट गरी दुई वटा नर्सरीमा उत्पादित विभिन्न प्रजातिका बिरुवा वितरण लागिएको हो । उक्त कार्यालयको परिसरमा रहेको डिभिजन नर्सरी र गैँडाकोट सवडिभिजन कार्यालयको सव डिभिजन नर्सरीमा हुर्काइएका एक लाख १८ हजार बिरुवा रोप्नका लागि निःशुल्क वितरण थालिएको बन अधिकृत एवं सूचना अधिकारी हरिप्रसाद गौतमले बताए ।

दुईवटै नर्सरीबाट एक लाख १७ हजार बिरुवा उत्पादनको लक्ष्य रहे पनि लक्ष्यभन्दा धेरै बिरुवा तयार भएको उनको भनाइ थियो । यसवर्ष वन कार्यालयले आफ्नै नर्सरीमा ३२ प्रजातिका बिरुवा तयार गरेकामा बहुवर्षीय रुखका बिरुवा, डालेघाँसका बिरुवा, फूलका बिरुवा, सुगन्धित जडीबुटीका बिरुवाका साथै भू–क्षय, कटान तथा पहिरो रोकथामा उपयोगी बाँस तथा अम्रिसो जातका बिरुवा रहेको छ ।

असार ८ गतेदेखि विरुवा उपलब्ध गराउन थालिएकामा अहिले बिरुवा लिन आउनेहरू बढेका छन् । लामो समयको खडेरीपश्चात् भर्खर मनसुन सक्रिय भएकाले अब बिरुवा रोप्दा जोगाउन सजिलो हुने भएपछि बिरुवा लिन आउनेहरू बढेका हुन् । निजी, सार्वजनिक तथा संस्थागत सबैलाई निःशुल्क बिरुवा उपलब्ध गराउँदा वातावरणीय सन्तुलन, वातावरणीय सौन्दर्य, भू–क्षय तथा कटान रोकथाम र पशुका लागि घाँस परिपूर्तिमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

‘विशेष गरी निजी जमिनमा बिरुवा माग गर्ने उपभोक्ताले सौन्दर्यका लागि धूपी, कल्कीफूल, गुलमोहर, वीरेन्द्रफूल, कपुरजस्ता बिरुवा लैजाने गरेका छन्’, सूचना अधिकारी गौतमले भने, ‘सामुदायिक वन, संस्थागत र सार्वजनिकस्थलमा वृक्षरोपण गर्नेहरूले सबै प्रजातिका बिरुवाको माग गर्ने गरेका छन् ।’ कार्यालयले बिरुवा वितरण खुला गरेसँगै यहाँका विद्यालयले समेत वृक्षरोपणमा चासो देखाएका छन् ।रासस

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology