जग्गा सट्टाभर्नाका लागि १ करोड ६० लाख देवचुलीले दिने, स्रोत सुनिश्चितता नहुदा ठेक्का आव्हान हुन सकेन

NAWALPUR TIMES
प्रकाशित : २०८१ पुष ७ गते १६:२९
जग्गा सट्टाभर्नाका लागि १ करोड ६० लाख देवचुलीले दिने, स्रोत सुनिश्चितता नहुदा ठेक्का आव्हान हुन सकेन

सन्जय भट्टराई, कावासोती । नवलपुरको देवचुली नगरपालिकाको वडा नं १७ मा बन्ने भनिएको ट्रमा सेन्टरको जग्गाको सोध भर्ना बापत १ करोड ६० बुझाउने देवचुली नगरपालिकाको दोस्रो नगर सभाको छैटौं अधिवेशनले निर्णय गरेको छ ।

गत पुस ५ गते सम्पन्न दोस्रो नगर सभाको छैटौं अधिवेशनले जग्गा सोधभर्ना बापत नेपाल सरकारलाई बुझाउनु पर्ने दायित्व बराबरको १ करोड ६० लाख रकम बुझाउने निर्णय गरिएको देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिबाकर पौडेलले जानकारी दिए ।

देवचुली -१७ मा रहेको झराही सामुदायिक वनको जग्गामा ट्रमा सेन्टर बनाउन नेपाल सरकार मन्त्री परिषदको गत साउन १४ गते बसेको बैठकले भोगाधिकार दिने निर्णय गरेको थियो । उक्त वनको जग्गा ट्रमा सेन्टरलाई दिए बापत वन मन्त्रालयलाई जग्गा सट्टा भर्ना वा सो बराबरको रकम बुझाउनु पर्ने कानुनी व्यवस्था रहेकाले जग्गा सट्टा भर्ना बापत रकम दाखिला गर्ने नगरपालिकाले निर्णय गरेको हो ।

सट्टा भर्नाको कुरा टुङ्गिए सँगै ट्रमा सेन्टर निर्माण स्थलमा रुख कटानको बाटो खुल्ने भएको हो । झराही सामुदायिक वनको २ हेक्टर जग्गामा मन्त्री परिषदको निर्णय अनुसार विभिन्न प्रजातिका ६ सय ४६ वटा रुख,पोल काटन अनुमती दिईएको थियो ।

चालू आवमा १० करोड बजेट विनियोजन भएको भए पनि ट्रमा सेन्टरका लागि १८ करोड लाग्ने सघन शहरी विकास तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख झपट थापाले बताए । चालू आवमा १० करोड मात्रै विनियोजन भएको र डिपिआर तथा फाईनल डिजाईन अनुसार ट्रमा सेन्टरका लागि १८ करोड लाग्ने भएकाले थप बजेटको स्रोत सुनिश्चितता नहुदाँ सम्म ठेक्का आव्हान गर्न नसकिएको थापाले बताए । ‘हामीले बजेटको सुनिश्चित गर्न अर्थमन्त्रालयमा लेखी पठाएका छौं, अहिलेसम्म स्रोत सुनिश्चित भएको छैन। स्रोत सुनिश्चित नभई ठेक्का लगाउन मिल्दैन’ थापाले भने। उनले बजेटको स्रोत सुनिश्चित हुनासाथ ठेक्का प्रक्रिया अगाडि बढ्ने बताए। ‘डीपीआर, नक्सा लगायत सबै काम पूरा गरेर बसेका छौं, रुखहरू काट्नुपर्ने कामसम्बन्धित निकायले गर्नुपर्छ, स्रोत निश्चित भएपछि काम अगाडि बढ्छ, कहिले स्रोत सुनिश्चित हुन्छ मैले भन्न सक्दिनँ’, थापाले भने।

नवलपुर क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य डा. शशांक कोइरालाले ट्रमा सेन्टरका लागि थप बजेटको स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रीसँग छलफल भएको र अब केही समयमा बजेटको स्रोत सुनिश्चितता हुने र बहुवर्षे योजनाको रुपमा सघन शहरी विकास तथा भवन निर्माण आयोजनाले ठेक्का आव्हान गर्ने बताए ।

प्रकाशित : २०८१ पुष ७ गते १६:२९

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI