काठमाडौं – आजको नेपाली कांग्रेसलाई मरेका नेताहरू बचाएको, बाँचेका नेताहरूले डुबाईरहेको पार्टी भनिन्छ । संसदको मूख्य विपक्षी पार्टी कांग्रेस नून खाएको कुखुराजस्तो शिथिल, पराजित मानसिकताले ग्रसित र आफ्नो वर्तमान र भविष्य सम्झेर त्रसित भए झैँ लाग्छ ।
ते-हौँ महाधिवेशन सकिएको ५ वर्ष बितेर चौधौँ महाधिवेशनतिर लाग्नुपर्ने हो, तर कुनै सुरसार देखिन्न । पार्टीको केन्द्रीय नेतृत्व संरचनालाई पूर्णता नदिई लथालिङ्ग अवस्थामा राखेकै अवस्थामा अर्को महाधिवेशनतिर पार्टी गईरहेको छ ।
२०७४ मा सम्पन्न तीनवटै तहका निर्वाचनमा नेतृत्वको नालायकी प्रतिबिम्बित गर्दै शर्मनाक पराजय भोग्नुपरको यस पार्टीले चुनाबमा पराजयको रौँचिरा विश्लेषणसहित निर्विवाद प्रतिवेदन समेत तयार गर्न नसक्नुलाई जमानाले वर्तमान नेतृत्वलाई किनार लगाउन लागिरहेको, नेताहरू पदमा टाँसिईरहन अनेकौँ तिकडम, इन्द्रजाल र तिलश्मी क्रियाकलाप गरिहेको अखडाका रुपमा पार्टीलाई पु-याईसकेको अवस्था छ ।
निर्वाचनमा पार्टीको पराजयबारे समीक्षा र निष्कर्ष बनाउने विषय सुन्नै नचाहने, तीब्र दबाब आएको ४ महिनापछि बल्लतल्ल छलफलसम्म चलाउने तर प्रतिवेदन लेख्नै नचाहने सभापतिको नेतृत्वशैलीले पार्टीको स्वाभिमान गिराउने आफ्नो अभिमान हौस्याउने मनोवृत्तिले काम गरिरहेको छ । अति आकांक्षी नेताहरूको निहित स्वार्थ गढेर बसेको देखिन्छ ।
स्वार्थका दुई रुप हुन्:
(१) नेतृत्वको नालायकीलाई कार्यकर्तासमक्ष छल्नु
(२) आगामी महाधिवेशनमा आफ्नो पोजिशन बलियो बनाउनु ।
सबैजसो जिल्लाहरूबाट के आक्रोश र गुनासो आइरहेको बुझिन्छ भने नेपाली काँग्रेसको संस्थापन वा प्रतिपक्ष दुवैले परिस्थितिबाट शिक्षा र चेतना लिननसक्नु भयानक समस्या हो । जनपरिचालन हुने ठोस कार्यक्रम ल्याउन नसक्नु, सरसल्लाह र सहमतिले काम गर्ने संस्कार तथा परम्परा मास्दैजानु, हचुवाको भरमा काम गर्ने परिपाटी बसाल्नु, कोठे झुण्डको अल्पबुद्धिको शिकार हुनु नै सभापति शेरबहादुर देउबाको विशेषता बन्नपुगेको छ । यसबारे संस्थापन पक्षकै कतिपय कार्यकर्ताको गुनासो सुनिन्छ, “देउबा दाईको किचेन क्याबिनेटमा एक हुल खाउवीर, लठैत, लम्पट, विदेशी दलाल, सत्तापक्षका तावेदार, नातागोता र बुद्धिसुद्धि नभएका स्वाँठहरू छन्, तिनकै घेरामा गलत सूचना र डेढअक्कली विश्लेषण सुनेर देउबा दाई निर्णय गर्नुहुन्छ । ‘जिऊ भारी बुद्धि डाँडा पारी’ को अवस्थाले पार्टी कहाँ जुझारु बन्न सक्छ !”
पार्टीभित्रकै विपक्षको नेतृत्व गरिहेका बरिष्ठ नेता रामचन्द्र पौडेलका पनि त्यस्तै गम्भीर कमजोरी, लोभ र स्वार्थ हावी भईरहेको छ । सबैलाई समेट्ने चौडा मानसिकता नभएको साँघुरो चित्त बोकेको, निहित स्वार्थहरू घटाउन नसकेको, पदको लोभले पार्टी चलाउन खोजेको, आफ्नै गुटभित्र पनि सर्वमान्य र निर्विवाद हुन नसकेको, पार्टी सभापति देउबाका अराजक, दुस्साहसी र मनपरि गतिविधिलाई नियन्त्रणमा राख्ने शक्तिको रुपमा नभएर क्षुद्र र क्षणिक लाभको मौकामात्र ढुकिरहने गरेको, कार्यकर्ताका सुझाब तथा गुनासाहरू सुन्ने र आत्मसात गर्न नखोज्ने, उर्दीका भरमा काममा लगाउन र कार्यकर्तालाई आज्ञापालक बनाउन खोज्ने चरित्र रामचन्द्रजीमा प्रष्टै प्रदर्शित हुनेगर्छन् ।
सभापति देउबा र रामचन्द्र पौडेलको दिमागमा प्रधानमन्त्री र पार्टी सभापतिको कुर्सी बाहेक अरू कुनै सोच पाईँदैन । यही लोभ र -याल कडाइले गर्दा भारतले नेपाली भूमी कालापानी क्षेत्रबाट चीन प्रवेश गर्ने राजमार्ग नै बनाउँदा पनि त्यसको जमेर विरोध गर्न सकिरहेका छैनन् । चालु संविधान जारी गरेको दण्डस्वरुप नेपालमाथि ५ महिनासम्म नाकाबन्दी गरिदिँदा पनि त्यसलाई उनीहरूले नाकाबन्दी भन्न सकेका थिएनन् ! कुनै बेला कांग्रेस सभापतिको कुर्सीमा बसेर सुशील कोइरालाले प्रचण्डलाई “शान्ति प्रक्रियाको नेतृत्व तपाईँ लिनुहोस्”, “तपाईँ राजनेता बन्नुहोस्”, “हिरो बन्नुहोस्” भनेका थिए, तिनै प्रचण्ड पहिले सुशीलमाथि ‘हिरो’ पल्टिए, त्यसपछि २०७४ को स्थानीय निर्वाचनमा प्रचण्डले छोरी जिताउन सभापति देउबालाई उनको चुनाब प्रचारका लागि चितवन पु-याए । लोकतान्त्रिक आन्दोलनको संवाहक, मुलुकको बरिष्ठ पार्टीको लागि योभन्दा स्वाभिमानहिन दुष्कार्य अरु के हुनसक्छ ?
गणतन्त्रको अचानोमा कांग्रेसलाई बली चढाउने कम्युनिस्ट ब्युहरचना जागृत छ । सत्तापक्ष चटके र प्रतिपक्ष रमिते भएको अवस्था छ । ‘शेर’ ‘शेखर’ ‘राम’ ‘प्रकाश’, ‘सिटौला’ आदिलाई उचालेर पछार्ने षड्यन्त्र टड्कारै देखिन्छ । तर सरोकारवालामा न कुनै संवेदनशीलता छ न त पार्टी संगठन सशक्त र जिवन्त बनाऔँ भन्ने इच्छाशक्ति नै पाईन्छ । सत्तापक्षबाट अलोकतान्त्रिक गुप्त गतिविधि, मनपरी र अपारदर्शी निर्णय भइरहँदा यता लोकतान्त्रिक पक्षमा कुनै संवेदनशीलता नदेखिनु र केवल प्रधानमन्त्रीको कुर्सी अर्कैको भयो भन्ने नितान्त सतही स्वार्थबाट निर्देशित हुँदा दिमागमा बिर्को लागेझैँ आफ्नो अबको भूमिका तय गर्न नसक्नु लोकतन्त्रको भवितब्य र अनिश्चितताको द्योतक हो ।
अब चौधौँ महाधिवेशन गर्नुपर्ने लोकतन्त्रको अगुवा शक्ति भनिने नेपाली कांग्रेसको वर्तमान चरित्र पैतृक सम्पत्तिको अंशका रूपमा हातपरेको, बजार साँघुरिएको र यथास्थितिमा निर्वाह चलाईरहेको पुरानो कम्पनीजस्तो मात्र हुँदैछ जहाँ कोइराला, देउबा र पौडेल (कोदेपौ) मूख्य शेयरहोल्डर भएका छन् ।
उनीहरू आ–आफ्ना भागको लाभांशमात्र हिसाब गर्दछन् तर कम्पनीको बजार विस्तारका लागि सिन्को पनि भाँच्न नचाहँने/नसक्ने निर्वाहमुखी साहु झैँ लाग्दछन् । ०७७ फागुन ७ देखि हुने भनिएको १४ औँ महाधिवेशन आउन एकवर्ष पनि बाँकी छैन, तर एउटा प्रतिष्ठित लोकतान्त्रिक पार्टी लोकतन्त्रका यी दिनमा घिसिपिटी चलेको बिजनेश कम्पनीमा रूपान्तरण हुनु लोकतान्त्रिक आन्दोलनका लागि कति स्वागतयोग्य होला, त्यो त जिम्मेवारहरूले नै जान्ने कुरा हो । न देउबा न त पौडेल आफ्नो भूमिकामा असफल भएका नेताहरूले पार्टी यसरी ओगटिरहेका छन् कि नयाँ पुस्ताले अझै अवसर पाउन असम्भव देखिन्छ ।
अर्कातिर नवोदित नेतृत्व र होनहार भनिएको नयाँ पुस्तामा पनि ब्यवहारगत जटिलता र विकृति प्रशस्तै छन् । अहिलेसम्ममा नयाँ पुस्ताले पनि नयाँ नेतृत्वरुपी चिल्लापात देखाइसकेको हुनुपर्ने हो । गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, धनराज गुरुङ्, गुरु घिमिरे लगायतका युवा नेताहरू आफ्नै प्यानल र विचार–समुह बनाएर अगाडि आएमा पार्टीभित्र नयाँ उत्साहको सञ्चार हुनसक्छ ।
मनको कुरा भँजाएर वा कोठाको मिटिङ देखाएर पार्टी चलाउन खोज्नु आफैँमा निरिहता र बिडम्बनाको द्योतक हो । तर नयाँ पुस्ता पनि त्यही निरिहता र बिडम्बनाको माखेसाङ्लोमा जेलिनपुगेको छ । हिजो राजतन्त्र रहँदासम्म आफ्ना सबै दोषका लागि राजतन्त्रतिर देखाएर कांग्रेसको बाटोमा दरबार नै तगारो भइदियो भनी अर्थ लगाइदिँदा तत्कालका लागि नाक जोगाउने खोल् मिल्थ्यो र सजिलो थियो । तर राजतन्त्र नभएका यी दिनमाचाहिँ काँग्रेसलाई आफ्नो पौरख चलाउन केले तगारो हाल्यो ?
यसको उत्तर अब काँग्रेसले अन्यत्र होइन, आफैँभित्र खोज्नुपर्दछ र गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता काँग्रेसलाई महँगो भइरहेको त होइन ? पुनर्विचार र प्रष्टताका साथ जागरण आउनु पर्छ ।
सभापति हुने उच्च सम्भावनामा रहेका ‘कोदेपौ’ लाई उपलब्ध अवसर, वातावरण, उमेर तथा स्वास्थ्य र गतिशीलता दृष्टिगत गर्दा उनीहरूमध्ये कसैबाट पनि धेरै काम हुने आसा गर्नु ब्यर्थ हो ।
सभापति हुनेले आफ्ना पालामा दुईटा काम गर्न सके भने त्यो नै ऐतिहासिक कीर्तिमान हुने थियो । पहिलो, पार्टीमा विद्यमान गैरसैद्धान्तिक तथा स्वार्थको विवादलाई जिल्ला र स्थानीय तहसम्मै कठोरताका साथ अन्त्य गरी यसलाई संस्थागत, सामुहिक नेतृत्वको, बहसमा आधारित पूर्ण अनुशासित, सुसंगठित, नीति र विचारप्रधान पार्टी बनाइदिने । र दोस्रो पार्टीमा उत्साह र सिर्जनशीलता बढेर आएको सन्देश पनि दिने साधनका रूपमा सबै जिल्ला कमिटी र सकेसम्म नगर र गाउँसम्म आफ्नै पार्टी भवन बनाउन प्रयास र अभियानको थालनी गर्ने । यो नाजायज अपेक्षा होइन, जागरणको मूर्त रुप यही हुनसक्छ ।
आफ्नो कार्यकालमा कांग्रेस सभापति देउबा पार्टीबाहिरका अनेक अदृश्य र तिलश्मी दबाब र अनिवार्यताको बिवश बन्दी बनेकै हुन् । अनेकौँ लोभ–लालच र मोलाहिजामा लागेकै हुन् ।
प्रतिपक्षी दलका नेता भएर पनि आफ्नो थान्को र मर्यादामा नबसेर, जापानका लागि नेपाली राजदूतमा आफ्नी सासु तर राप्रपाकी नेतृलाई त्यहीँ थमाउन, निर्वाचन आयोगको रिक्त आयुक्तमा पूर्व डीआईजी जयबहादुर चन्दलाई नियुक्त गराउन, नेपाल वायुसेवा निगमका दुईटा वाइड बडी जेट विमान खरिदमा आफ्नो संलग्नता लुकाउन आदि अनेक कारणले सत्तातिर देखाएको अवाञ्छित आशक्तिले गर्दा उनीमाथिको भरोसाहिनता वा अविश्वास झनै गाढा भयो ।
संसदको गत वर्षे अधिवेशनमा सत्तापक्षको नीति र कार्यक्रममा अनुपस्थित भईदिएर र बजेट निरंकुश रुपमा पास हुन दिएर प्रतिपक्ष सत्ताको टाङ्मुनि छिरेको दोषको वर्षा भईरह्यो तर नेतृत्वलाई यस्ता कुरामा बाल मतलब भएन ।
यस्ता अनगिन्ती आपत्तीजनक कार्यशैलीको कारणले गर्दा पनि सभापति देउबाले अब फेरि सभापति हुने योग्यता र औचित्य गुमाइसकेका छन् । उनका प्रति हिजोको उत्साह पनि आज निरासामा परिणत हुँदैगएको छ । पार्टी सभापति पद, सारा कार्यकर्ताको लागि निष्पक्ष न्यायमूर्ती र भँजाउन नहुने सम्पत्ति हुनुपर्ने हो । तर उनले गुटबन्दी र भागबण्डालाई संस्थागत गर्न, एउटा गुटमा सीमित रहन र ‘कोठेशक्ति र ओठेभक्ति’मै रमाउन खोजेको प्रष्टै भयो ।
त्यो नै पार्टीले ब्यहोर्न नसक्ने महँगो चेष्टा भइरहेको छ । कम्युनिस्ट पार्टी एकजुट भएर सत्ता ओगट्नु, लोकतान्त्रिक शिबिर प्रतिरक्षात्मक तथा किंकर्तब्यबिमूढ अवस्थामा पुग्नु दीर्घकालीन दृष्टिकोणले साह्रै दुःखद हुनेछ । लोकतन्त्रको सबभन्दा जेठो, ठूलो र अगुवा शक्ति मानिएको कांग्रेसमा शक्तिसञ्चय बढेर आयो भने मात्र अन्य लोकतान्त्रिक शक्तिहरूको अस्तित्वको अर्थ हुनेछ । के अहिलेको हालतमा पार्टीभित्र प्रजातान्त्रिक उत्साहको परिस्थिति निर्माण हुनसक्छ त ? सकारात्मक भएर आसा गरौँ, परन्तु यथास्थितिमा भर नपरौँ ।
लोकपथ बाट
प्रकाशित : २०७७ वैशाख २९ गते ८:१४
Facebook Comment