बहुप्रतीक्षित राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेकेदार पक्षलाई निर्माण कार्य पूरा गर्न तीन महिनाको समयावधि थप गरिएको छ। विमानस्थल निर्माणको ठेक्का पाएको नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले जनवरी ७, २०२० अर्थात २०७६ पुस २२ गतेभित्र काम सम्पन्न गर्नेगरी थप समयसहित ठेक्का पाएको थियो। ठेकेदार पक्षले तोकिएको समयमा ८६ प्रतिशत मात्रै भौतिक काम सम्पन्न गरेको देखिएको छ।
ठेकेदार पक्षले अझै तीन महिना म्याद थपको माग गरेअनुसार एशियाली विकास बैंक (एडिबी) को सहमतिमा प्राधिकरण सञ्चालक समितिले समय थप गरेको राष्ट्रिय गौरवको आयोजना निर्देशक प्रदीप अधिकारीले बताउनुभयो। उहाँले भन्नुभयो, ‘मार्च ३१, २०२० अर्थात आगामी चैत १८ गतेसम्म म्याद थप भएको छ।”
सन् २०१४ डिसेम्बर ३१ मा कार्यादेश पाई त्यसैअनुरुप विमानस्थलको स्तरोन्नतिका लागि सन् २०१७ जुन २ अर्थात २०७४ जेठ १९ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी बोलपत्र आह्वान भएको थियो। विश्वव्यापी बोलपत्र आह्वानमा चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सन ग्रुपले ‘टेन्डर’ पारी आवश्यक सम्झौता गरी २०७१ माघ १ गतेदेखि निर्माण गरेको थियो। शुरुमा कूल छ अर्ब २२ करोड ५१ लाख ३० हजार २२७ रुपैयाँ ९१ पैसा लागतमा निर्माण सम्पन्न गरी नर्थ वेस्टले ठेक्का पाएको भए पनि उक्त रकममा पुनः ‘भेरिएसन’ भएको छ।
निर्धारित समयमा काम नसकिएपछि पुनः सन् २०१८ जनवरी १ सम्मका लागि म्याद थप भए पनि थपिएको म्यादमा काम सम्पन्न नभएपछि फेरि २०१९ जुन २८ सम्मका लागि म्याद थप गरिएको थियो। सो अवधिमा पनि काम सम्पन्न नभएपछि पुनः जनवरी ७, २०२० अर्थात २०७६ पुस २२ गतेभित्र काम सम्पन्न गर्नेगरी थप समय सीमा दिइएको थियो। उक्त अवधिमा पनि काम सम्पन्न नभएपछि प्राधिकरणले अन्तिम सीमा भन्दै तीन महिना समयावधि थपेको छ।
आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार अब चार प्रतिशत सिभिलको काम र १० प्रतिशत विद्युतीय तथा उपकरणसम्बन्धी काम बाँकी छ। उनले भने, “आइसिपी–१ का धेरै काम सम्पन्न भएका छन्। आइसिपी–२ का धेरै काम बाकी छन्।” आइसिपी–१ भित्र धावन मार्ग, ट्याक्सी मार्ग, टर्मिनल भवन, प्रशासनिक भवन, कन्ट्रोल रुम, कार पार्किङ, धावन मार्गको बत्ती, जहाज पार्किङ रहेको अधिकारीले बताए। उनका अनुसार आइसिपी–१ को टर्मिनल भवनको फिनिसिङ र उपकरण जडान बाहेक अन्य काम सम्पन्न भइसकेको छ। “अब १४ प्रतिशत काम बाँकी छ”, अधिकारीले भने।
यसैगरी आइसिपी–२ मा उपकरण जडान र फाउन्डेसनको काम बाँकी रहेको आइसिपी–२ हेरिरहनुभएका उपनिर्देशक प्रवीण न्यौपानेले बताए। उनले भने, “सञ्चार (कम्युनिकेशन), पथप्रदर्शन (नेभिगेशन) जहाजलाई कुन दिसामा लाने भन्ने र मौसम मेटेरोलोजी) सम्बन्धी काम आइसिपी–२ मा हुन्छ । त्यसका लागि उपकरण ९० प्रतिशत आइसकेको छ। तर आइसिपी १ र २ अन्तरसम्बन्धित छन्।” आइसिपी–१ कै कारण आइसिपी–२ को काममा ढिलाइ भएको न्यौपानेले बताए।
उपनिर्देशक न्यौपानेले सबै काम सक्दा पनि अझै कम्तीमा तीन महिना लाग्ने बताए। विमानस्थल निर्माणका क्रममा बारम्बार समायवधि थपिँदा भेरिएसनसमेत बढेर गएको छ। अहिले नौ दशमलव ६२ प्रतिशत भेरिएसन भई छ अर्ब ८२ करोड २६ लाख १८ हजार ७६ रुपैयाँ ८५ पैसा हुन पुगेको छ ।
सम्झौताअनुसार २०१९ डिसेम्बर ३१ सम्म आइसिपी–१ र २०२० जनवरी ७ सम्ममा आइसिपी–२ को सबै काम सम्पन्न गर्नुपर्ने थियो। राष्ट्रिय गौरपको आयोजनाको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य समयमै नसकिनुको पछिल्लो कारण खुल्न सकेको छैन तथापि ठेकेदार पक्षले चाडपर्व र मौसमी कारणले ढिलाइ भएको बताएको छ।
यसअघि तीन पटकसम्म समयावधि थप्दा विद्युत्लाई मुख्य समस्या देखाइएको थियो। गत मङ्सिर १८ गते नेपाल विद्युत् प्राधिकरण भैरहवाले ११ हजार भोल्टेजको चार मेघावाट क्षमताको डेडिकेटेड लाइन विमानस्थलमा जडान गरिसकेको छ । विद्युत् जडान भए पनि अहिलेसम्म विद्युतीय काम भने हुन सकेका छैन।
प्रकाशित : २०७६ माघ २० गते ६:४१
Facebook Comment