बहराईचमा मृत भेटिएका वडा अध्यक्षको शव नेपाल ल्याईदै

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २ गते १९:०९
बहराईचमा मृत भेटिएका वडा अध्यक्षको शव नेपाल ल्याईदै

भारतको बहराइचस्थित एक होटलमा मृतावस्थामा भेटिएका कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष कृष्णबहादुर खड्काको शव नेपाल ल्याउने तयारी गरिएको छ । खड्काको शव ल्याउन नेपाली प्रतिनिधि टोली बहराइच पुगेको छ । भारतीय प्रहरीको सहयोगमा खड्काको शव नेपाल ल्याउने तयारी भइरहेको कोहलपुर नगरपालिकाका प्रेस संयोजक भीम रावतले जानकारी दिए । उहाँका अनुसार, बुधबार नै खड्काको शव नेपाल ल्याउने बताइए पनि शव परीक्षणका लागि समय लागेकाले आज शव नेपाल ल्याउने तयारी भइरहेको छ । वडाध्यक्ष खड्काको शव बुधबार बिहान बहराइचस्थित एक होटलमा फेला परेको थियो । खड्काको मृत्युको कारण अझै खुल्न सकेको छैन । मङ्गलबार सुर्खेतको मेहलकुना जाने भनि घरबाट हिडेका वडाध्यक्ष खड्का भारतमा मृतवस्थामा भेटिएका हुन्। घटनाबारे नेपाल प्रहरीले पनि आवश्यक अनुसन्धान गरिरहेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।

तत्कालीन नेकपा एमालेबाट उम्मेदवार भई वडाध्यक्षमा निर्वाचित खड्का नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँके जिल्ला कमिटी सदस्य थिए ।

प्रकाशित : २०७६ माघ २ गते १९:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI