दिपक भट्टराई
बर्सौ भयो-
एउटा कान्लोबाट अर्को कान्लो हाम नफालेको
खनियाको फेदमा बसेर खनिया नखाएको
गेडुलोको बुटो चढेर गेडुलो नटिपेको
चुत्रोका काला झुप्पाहरु नदेखेको
मैले बुटो चढेर हागा नझारेको
तैले भुइमा बसेर दाउरा नबटुलेको
एउटै कोठामा पोको परेर,
अब यो शहरमा नहराम
हिड् भो बुढी ! गाउँ जाम
कति भो कति-
बारिका पाटामा डोरि टागेर झुम्रोको बल नखेलेको
आकाशको घाम हेरेर यति बजेछ नभनेको
पुसे पन्ध्रमा खेतको कुनामा लहरै बनभात नखाएको
लोर्के भैसी गोठभरी नपालेको
तैले कुडेभरी दुध नतताएको
मैले घ्वार घ्वार मोहि नपारेको
गाबाको साग तामाको अचार र खुर्सानी टोकेर मोहिसङ्ग आटो नखाएको
दिनदिनै यहि सेतो भात खाएर,
अब यो शहरमा नबसम
हिड् भो बुढी ! गाउँ जाम
अझ कति भयो-
कटुस टिप्न बन नगएको
दात भाच्चिने गरि बेलौति नटोकेको
स साना ढुङ्गा हानेर अमला नझारेको
डोकोमा मल बोकेर पर्म नलगाएको
भोक लाग्दा तैले पटुकिबाट रोटि
मैले गोजिबाट नुन खुर्सानी नझिकेको
खै, कति भयो कति
आधुनिकताको खोजिमा
आफ्नोपन मेटिएको
यो कहालिलाग्दो शहर पसेर गाउ बिर्सिएको
मन ङिच्च पारेर
अब यो शहरमा नहराम
हिड् भो बुढी ! गाउँ जाम ।
कति भो कति-
भोर्ले खोलो थुनेर गैरिखेतमा पानी नहालेको
खेतका डिलैडिल नहिडेको
तैले खेत नरोपेको मैले आलि नलगाएको
परालको टौवा नहालेको आगनमा कोदो नठटाएको
पसिना पुछ्दै देउरालीमा नसुस्ताएको
तैले गाग्रीमा पानी नबोकेको मैले आसि नउधाएको
मन फुकाएर डाडै थर्किने गरि भित्रैदेखी नहासेको
देखावटी हासो हासेर
अब यो शहरमा नहराम
हिड् भो बुढी ! गाउँ जाम
कति भो कति-
दशै तिहार आउँदा
तैले कमेरो र रातो माटोले घर नपोतेको
मैले फोहोर कर्सा आगन र डहर नसोरेको
टिका लगाउन दिनभर गाउँ नडुलेको
रोटे पिङ्ग अनि लठ्ठे पिङमा नमच्चिएको
पर … खोलाको सुसेली सुन्दै पिढिमा नसुतेको
बिहानै भालेको डाकसङ्गै नउठेको
तैले जातो नपिसेको मैले ढिकी नकुटेको
खुशी बन्धकी राखेर
अब यो शहरमा नहराम
हिड् भो बुढी ! गाउँ जाम।
प्रकाशित : २०७६ पुष २४ गते २१:०१
Facebook Comment