सन्जय भट्टराई, कावासोती । पाटेबाघ मार्ने उद्योगमा चितवन राष्ट्रिय निकुञ्जले एक जनालाई पक्राउ गरेर आईतबार सार्वजनिक गरेको छ ।
निकुञ्ज कार्यालय कसरामा पत्रकार सम्मेलन आयोजना गरेर पाटेबाघ मार्ने उद्योगमा पक्राउ परेका २० वर्षीय युवकलाई सार्वजनिक गरिएको हो ।
पक्राउ पर्नेमा नवलपुर विनयी त्रिवेणी गाउँपालिका–१ का २० वर्षीय अमृत न्यौपाने रहेका निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।
विनयी त्रिवेणी गाउँपालिका–१ मा पर्ने तीनचुली सामुदायिक वनको लक्ष्मीडाँडामा वन्यजन्तुको सिकार गर्न प्रयोग भएको सवारीसाधनको ब्रेकको तार एक थान, केवल लाइनमा प्रयोग हुने तार एक थान र रौं अल्झेको जस्तो देखिने तार एक थान फेला परेसँगै न्यौपानेलाई पक्राउ गरिएको मगरले बताए ।
गत कार्तिक २ गते सोही स्थानका जितबहादुर थिङ बाघको आक्रमणमा परेर मृत्यु भएको थियो । थिङ मृत फेला परेको स्थानमा अनुसन्धान गर्दै जाँदा पासोका लागि प्रयोग भएका सामान सोही दिन बरामद गरिएको मगरले बताए । अनुसन्धानकै आधारमा निकुञ्ज र नेपाली सेनाको टोलिले न्यौपानेलाई पक्राउ गरेर थप अनुसन्धान अगाडी बढाएको थियो ।
न्यौपानेबाट बरामद मोबाईलमा समेत पासोमा परेको बाघको तस्बिर फेला परेको र उक्त तस्बिर न्यौपानेले नै खिचेको नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट पुष्टि भएको पत्रकार सम्मेलनमा सूचना अधिकारी मगरले जानकारी दिए । बाघलाई पासो थापिएको स्थानबाट बरामद तारमा अल्झिएको रौँ पाटे बाघको नै रहेको र पक्राउ परेका न्यौपानेले पासोमा बाघ परे पछि आफुले रुखमा चढेर बाघको तस्बिर खिचेको बयानमा स्विकार गरेका मगरले जानकारी दिए । उक्त रौँलाई नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालामा परिक्षणका लागि पठाईएकोमा डिएन नतिजा अनुसार बाघकै भएको पुष्टि भएको मगरले बताए ।
पक्राउ परेका न्यौपानेलाई बाघ मार्ने उद्योगमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को पाँचौँ संशोधनको दफा २६ उपदफा (५घ) बमोजिम कसुर गरेकाले सोही ऐनको दफा २६ को उपदफा १ बमोजिम सजाय माग दाबीसहित मुद्दा दर्ता गरिएको छ ।
प्रकाशित : २०८१ पुष ७ गते ११:४६
Facebook Comment