सन्जय भट्टराई, कावसोती । चितवन राष्ट्रिय निकुञ्जमा मंसिर महिनामा मात्रै २ वटा गैँडा एउटा बाघको मृत्यु भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार २०८१ मंसिर महिनामा मात्रै २ वटा गैँडा र एउटा ६ वर्षको व्यसक बाघको मृत्यु भएको हो ।
थापाका अनुसार मंसिर ७ गते मझुवा मध्यवर्ती सामुदायिक बनको क्षेत्रभित्र नारायणी नदीको दोस्रो भंगालोमा अन्दाजी ३१ वर्षको पोथी गैडा पानीमा डुबेर र मंसिर १३ गते राष्ट्रिय निकुञ्जको धुर्वे पोष्ट नजिक करिब ३५ वर्षको पोथी गैडा कालगतिले मरेको थियो । त्यसै गरि मंसिर १६ गते अमलटारी सेक्टर अन्तर्गत नन्दपुर घाटमा अको बाधसँग जुधेर अन्दाजी ६ वर्षको बाघको मृत्यु भएको सूचना अधिकारी थापाले जानकारी दिए । यो सँगै चालू आवमा मृत्यु हुने गैँडाको संख्या १२ पुगेको छ ।
यसै बिच निकुञ्जले एउटा बिरामी गैँडालाइ उपचार गरेर पुन: जंगलमा फर्काएको छ । सूचना अधिकारी थापाका अनुसार मंसिर २७ गते चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, नयाँ गोरख गण र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक सहितको संयुक्त टोलीले कसरा सेक्टर अन्तर्गतको लामी ताल नजिक एउटा घाइते गैंडालाई डार्ट गरी उपचार गरेर पुन: जंगलमै छाडिएको हो । त्यसै गरि यसै अवधिमा तीन पटक गरी ४० वटा पोथी र १ वटा भाले गरेर ४१ वटा घडियाल गोही प्राकृतिक बासस्थानमा छाडिएको छ ।
सूचना अधिकारी थापाका अनुसार गत कार्तिक १३ गते पछि मात्रै गैँडाको आक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छ्न । मृत्यु हुनेहरुमा नवलपुरको कावासोती ७ का चुन बहादुर बोटे र मध्यविन्दु-६ का नानुराम महतो रहेका छ्न । बोटेलाई कृष्ण सार सामुदायिक वन प्रवेश गर्दा र महतोलाई आफ्नै बारीमा आलु रोप्दै गर्दा गैँडाले आक्रमण गरेको थियो । त्यसै गरि घाईते हुनेहरुमा भरतपुर २८ का नेचर गाईड जग बहादुर माझी , माडी-१ का छबिलाल बोटे, कावासोती-१५ का निरन्जन महतो र नेपाली सेनाका जवान कृष्ण यादव रहेका निकुञ्जले जनाएको छ ।
त्यसै गरि कार्तिक १३ गतेदेखि मंसिर मसान्तसम्म अवैध गतिविधि नियन्त्रण कार्य अन्तर्गत बाघ संग सम्बन्धित कसुर गर्ने १ जना, अनुमति बिना बँदेल पाल्ने २ जना, बिना अनुमति निकुञ्ज प्रवेश गरी घाँस दाउरा काट्ने ३० जना, माछा मार्ने २३ जना, परेवा मार्ने १ जना र बिना अनुमति निकुञ्ज प्रवेश गरी निउरो टिप्ने ८ जना गरी जम्मा ६५ जना मानिसहरुलाई नियन्त्रणमा लिई नियमानुसार कार्बाही गरिएको सूचना अधिकारी थापाले जानकारी दिए ।
यसै गरि वन्यजन्तुबाट हुने क्षतिको राहत अन्तर्गत चालु आ. व. २०८१/०८२ को श्रावणदेखि मंसिर मसान्तसम्म सत्ताइस लाख अठासी हजार नौसय बयानब्बे रुपैया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्रका वन्यजन्तुबाट प्रभावित स्थानीय बासिन्दाहरुलाई वितरण गरिएको सूचना अधिकारी थापाले बताए ।
थापाका अनुसार चालू आ. व. को श्रावणदेखि मंसिर मसान्तसम्म नेपाली ३२ हजार ८ सय ८० जना, सार्क मुलुकका ५ हजार ८ सय ५१ जना, अन्य बिदेशी ३३ हजार ७ सय ३० जना गरी जम्मा ७२ हजार ४ सय ६१ जना पर्यटकले यस राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन् भने यसबाट छ करोड चौवालिस लाख बाह हजार पचास रुपैया राजस्व जम्मा भएको थापाले बताए ।
प्रकाशित : २०८१ पुष ३ गते ९:२८
Facebook Comment