लघु कथा : “टेक कियर आमा”

NAWALPUR TIMES
प्रकाशित : २०८१ मंसिर २२ गते २१:२४
लघु कथा : “टेक कियर आमा”

राजन पाण्डे-

बिमलकी आमा…….।  बिमलकी आमा…….। सुन त,.. छोरो काममा गएको रहेछ । कामबाट फर्केपछि कल गर्छु भनेको छ। एकछिन नआतीय है.. छोरासँग कुरा हुन्छ भन्दै बिमलका बाले बिमलकी आमाको टाउको आफ्नो काखमा राखेर हातहरु सुमसुम्याइरहेका छन् …

बिमलकी आमा तीन महिनादेखि बिस्तारामा परेकी हुन् । तीन दिन भयो उहाँलाई साह्रै च्यापेको छ। डाक्टरले थप उपचार नहुने भनेपछि बिमलकी आमालाई घरमा नै प्राण छोड्ने इच्छा भएकाले घरमा नै राखिएको छ। आजै बिहान बैतर्नी पूजा पनि गरियो । नजिकका आफन्तहरू, छरछिमेकीहरु आउने भेट्ने, दुःखका सुस्केराहरू काढ्ने गरिरहेका छन् । भेट्न आउनेहरू बीच आपसमा कुराकानी भएको सुनिन्छ ।
सन्तान भएर के भो र दुःखमा साथ छैन भने !!
आज धन, मान, मर्यादा र सफलताको तिर्खामा सन्तान दौडिरहेका छन् । यो दौडमा बाआमालाई कहाँ छोडेर दौडिए पत्तै छैन। वस्तु भन्दा व्यक्ति गौण भएको छ। सम्पत्तिको अगाडि सम्बन्धहरू फिक्का भएका छन्।
सन्तानसँग धन छ, सम्पत्ति छ, प्रतिष्ठा छ, तर बाआमालाई सेवा गर्ने समय छैन । सन्तानलाई दुख्दा बाआमालाई पीडा हुन्छ। तर बाआमालाई दुख्दा सन्तानलाई पीडा कमै हुँदो रहेछ। यस्तै यस्तै कुरा चलिरहेको छ ।

यत्तिकैमा बिमलकी आमाले भित्रैदेखि बल लगाएर बिमलका बा तर्फ आँखा हेर्दै भाँसिएको स्वरमा भन्न थालिन्। ” बिमलका बा बिमलसँग मन नदुखाउनु है। हामीले नै बिमललाई भन्यौ तिम्रो खुसी नै हाम्रो खुसी हो भनेर । आज ऊ खुसी छ। त्यसैले हामी खुसी हुनुपर्छ। हामीले हाम्रो दुःखमा तिमी पनि  दुःखी हुनु छोरा भनेर कहिल्यै सिकाएनौ नि त । होइन र ?”

“बिमलका बा छोराको उमेर बढेको छ। पढाइ धेरै छ भनेर नसोच्नु धेरै कुरा जान्दैन त्यसले कसलाई कतिखेर समय दिनुपर्छ भनेर त जान्दैन ।  त्यसैले  त्यसको बानीले आफ्नो  मन नदुखाउनु है। त्यसलाई सिकाइ राख्नु ।”

“तिमीलाई थाहा छ नि बिमलका बा सन्तानसँगको मायाको न मूल्य हुन्छ न तुलना । मन र मुटु जोडिएको नाता हो। त्यसैले विशाल हृदयले छोरालाई समेट्नु है ।”

“आमाको काख र बाको काँध चाहिँदैन अब छोरालाई कहिल्यै नभन्नु। कतै बिमलले तिमीलाई गर्ने माया ममता र स्नेहमा कमी गर्यो भने मलाई सम्झेर गाली गर्नु। यसकी आमाले छोरालाई सिकाउनै जानिन भन्नु ।  जिम्मेवारी र कर्तव्य बोधका कुरा बाबुलाई तिमीले सिकाइराख्नु है ।”
……
“बिमलका बा तिमीलाई थाहा छ नि। म जिउँदै हुँदा पनि फेसबुक चलाउन जान्दिन । मरेपछि झन् परलोकमा के चलाउँथे र त्यसैले छोरालाई मलाई सम्झेर फेसबुकमा फोटो राखेर आफू दुःखी हुन नभन्नु है ।”
…..
“फिल्मका कथा हरूमा दुखी भएर आमाप्रतिको जिम्मेवारी पूरा गर्न सकिन भन्ने भावले नरुनु भन्नु है ।”
…..
“बिमलका बा म तिमीलाई अघि लगाएर पछि जान चाहन्थे । तिम्रो अन्तिम शास सम्म तिमीलाई सेवा गरेर बाँच्न चाहन्थे। दैवले त्यो चाहेन ।”
…..
“बिमलका बा जिन्दगी भनेको सम्झनै सम्झनाको माला  रहेछ। अतितका सम्झनाहरूको बहावमा सकेजति संग्लिँदै बग्नु । सुमधुर र सुगन्धित हुनु । आफ्नो ख्याल गर्नु ”
…..
यत्तिकैमा म्यासेन्जरमा घन्टी बज्छ।
बिमलको कल आएको रहेछ। बिमलका बाले बाबु आमासँग बोल  भनेर मोबाइल बिमलकी आमाको कानमा लाउड गरेर सुनाउँछन् ।
आमा…. आमा….
टेक कियर आमा……
बिमलकी आमाको प्राण पखेरु उडिसकेको थियो।
………..
थियो त केवल बिमलको टेक केयर आमा भन्ने आवाजको गुञ्जन….
टेक कियर आमा ……टेक केयर आमा………

प्रकाशित : २०८१ मंसिर २२ गते २१:२४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI