विराटनगरको एनपीएलमा पहिलो जित
NAWALPUR TIMES
प्रकाशित : २०८१ मंसिर १९ गते १६:४४
कावासोती । नेपाल प्रिमियर लिग (एनपीएल)मा बनेको कीर्तिमानी खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सविरुद्ध दुई विकेटको रोमाञ्चक जित निकालेको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा लुम्बिनीले प्रस्तुत गरेको १९२ रनको लक्ष्य विराटनगरले १९.५ ओभरमा आठ विकेट गुमाएर पूरा गर्यो ।
यो एनपीएलमा कुनै पनि टिमले भेट्टाएको हालसम्मकै ठूलो योगफल हो । प्रतियोगितामा विराटनगरको यो पहिलो जित हो । यसअघि विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेट र दोस्रो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो ।
विराटनगरलाई अन्तिम ओभरमा जितका निम्ति १६ रनको आवश्यकता थियो । लुम्बिनीबाट बलिङ गर्न आएका विवेक यादवले सुरुका दुई बल वाइड फ्याके । त्यसपछि उनले पहिलो आधिकारिक बलमा विराटनगरका कप्तान सन्दीप लामिछानेलाई आउट गरे ।
विराटनगरलाई जितका निम्ति अन्तिम पाँच बलमा १४ रन आवश्यक बन्यो । सन्दीपपछि ब्याटिङमा आएका क्रिस सोलले विवेकको दोस्रो बल डट खेले । तेस्रो बल छक्का प्रहार गरेपछि विराटनगरलाई अन्तिम तीन बलमा सात रन आवश्यक थियो । चौथो बलमा पनि बाउन्ड्री लगाउँदै सोलले चौका प्रहार गरे । दुई बलमा तीन रन आवश्यक हुँदा पाँचौँ बलमा पनि सोलले चौका प्रहार गरेपछि विराटनगरले रोमाञ्चक जित निकालेको हो ।
प्रकाशित : २०८१ मंसिर १९ गते १६:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by:
SAROJ BHATTARAI
Facebook Comment