रविलाई बयानको लागि चितवन लगियो

NAWALPUR TIMES
प्रकाशित : २०८१ मंसिर १८ गते ९:१३
रविलाई बयानको लागि चितवन लगियो

कावासोती । सहकारीको रकम हिनामिना गरेको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछानेलाई चितवन लगिएको छ । सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा चितवन प्रहरीमा मंसिर ५ गते पूरक निवेदन दर्ता भएपछि बयानको लागि उनलाई काठमाडौंबाट चितवन लगिएको हो ।

लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा हिजो बयान सकिएको थियो । उनलाई चितवनमा बयानको लागि जिल्ला अदालतले स्वीकृतिसमेत दिइसकेको छ ।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रहेको रविले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा लगातार ३ दिन बयान दिएका थिए ।

कास्की प्रहरीको हिरासतमा रहेका रविलाई काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनका विषयमा बयान लिन बिहीबार काठमाडौं ल्याइएको थियो । त्यसको भोलिपल्ट शुक्रबार बिहानैदेखि उनको बयान चलेको थियो । बाँकी बयान आइतबार र सोमबार भएको हो ।

बयानका क्रममा लामिछानेले स्वर्णलक्ष्मी सहकारीबाट लिएको ऋण आफ्नो नभई संस्थागत भएको बताएका छन् । स्वर्णलक्ष्मीबाट गोर्खा मिडियामा २ करोड २८ लाख ९८ हजार ४ सय ८० रूपैयाँ गएको देखिन्छ ।

सरकारी वकिलको प्रश्नमा रविले स्वर्णलक्ष्मी सञ्चालक समितिको अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई आफैं रहेको र उनले नै गोर्खा मिडियालाई ऋण दिएको हुन सक्ने जवाफ दिएका हुन् । रवि गोर्खा मिडियामा १५ प्रतिशत शेयर प्राप्त गरेका साझेदार र बैंक खातामा हस्ताक्षर चल्ने अखियारीसहितको प्रबन्ध निर्देशक भएका हैसियतले उनलाई ऋणको कानूनी जवाफदेहिताबारे प्रश्न सोधिएको थियो ।

प्रकाशित : २०८१ मंसिर १८ गते ९:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI