कावासोती । नेपाल प्रिमियर लिगको उद्घाटन खेलमा अनिल शाह कप्तानीको जनकपुर बोल्ट्सले विजयी सुरुवात गर्ने क्रममा सन्दिप लामिछाने कप्तानीको टिम बिराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको छ।
टियु अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा बिराटनगर किंग्सले दिएको १२८ रनको लक्ष्य जनकपुर बोल्ट्सले मात्र २ विकेट गुमाएर १५. ३ ओभरमै भेटायो।
जनकपुरको लागि तेश्रो नम्बरमा ब्याटिंग गरेका लाहिरु मिलान्थाले सर्वाधिक ७५ रन बनाए जुन क्रममा अविजित रहेका देब्रे हाते ब्याटरले ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गरे। हर्ष थाकरले अविजित २९ रन बनाए। ओपनर अनिल शाह ५ तथा आसिफ शेख खाता नखोली आउट भएपछि मिलान्था र थाकरले तेश्रो विकेटको लागि ११६ रनको अविजित साझेदारी गरे। बिराटनगरको बलिङमाक्रिस सोल र प्रतिश जिसीले १/१ विकेट लिए।
टस हारेर ब्याटिंग गरको बिराटनगर किंग्सले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रन मात्र बनाउन सक्यो।
किंग्सको लागि चर्चित न्युजिल्यान्ड क्रिकेटर समेत रहेका मार्टिन गप्टिलले सर्वाधिक ५५ रन बनाए। त्यस क्रममा दायाँ हाते ब्याटरले ४३ बलमा ७ चौका र १ छक्का प्रहार गरे। अकिब इल्यासले १५ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
एक समय ९६ रनमा मात्र ३ विकेट गुमाएको किंग्सले त्यसपछि लगातार विकेट गुमायो। चौधौं ओभरको अन्तिम बलमा गप्टिललाई अफ स्पिनर हर्ष थाकरले क्याच आउट पारेपछि लगातार विकेट गुम्यो। फलस्वरुप ९६/३ बाट किंग्स ११२/९ को अवस्थामा पुग्यो भने १२७ रनमा सबै विकेट गुमायो।
जनकपुर बोल्ट्सको बलिंगमा देब्रे हाते स्पिनर ललित राजबंशीले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २८ रन खर्चिए। किशोर महतो र हर्ष थाकरले २/२ विकेट लिए। बेन माइक र मोहम्मद मोहसिनले १/१ विकेट लिए।
प्रकाशित : २०८१ मंसिर १५ गते १५:३१
Facebook Comment