कावासोती । देवचुलीको पृथ्वीनगरमा शुक्रबार देखि सुरु भएको देवचुली गोल्डकपमा आयोजक शान्तिदिप युवा क्लबले विजयी सुरुवात गरेको छ ।
शनिबार सम्पन्न खेलमा साबिक पिठौली गाविसलाई ४-१ गोल अन्तरले पराजित गर्दै आयोजक शान्तिदिप युवा क्लब प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
शान्तिदिप युवा क्लबका लागि जय बहादुर थापा, आशिष् बहादुर सारु, राजन पाठक र अमृत बुढा मगरले गोल गरेका थिए भने साबिक पिठौलीका लागि एक मात्र गोल प्रसिस खनालले गरेका हुन । खेलको म्यान अफ द म्याच पिठौलीका प्रसिस खनाल भएका छन ।
भोलि आईतबार देवचुली नगर खेलकुद विकास समिती र योङ्ग व्वाईज चितवन बिच खेल हुने छ ।
१४ टोलीले भाग लिएको प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ७५ हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले १ लाख ५० हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सेमिफाइनल पुग्ने २ टिमले २५ हजार रुपैयाँँ नगद तथा उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा अनुशासित टिमलाई नगद ५ हजार रुपैयाँँ पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।
प्रकाशित : २०८१ मंसिर ८ गते १७:३४
Facebook Comment