चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पाेरेसनले निर्माणको जिम्मा लिएको ११३ किलोमिटर सडक २०७५ देखि अलपत्र अवस्थामा छ ।
चाइनास्टेट कम्पनीसँग उक्त सडकखण्ड २०७९ साउन २२ सम्ममा निर्माण सम्पन्न गर्नेगरी २०७५ चैत ८ गते ठेक्का सम्झौता भएको थियो । काम नसकिएपछि सरकारले तीन पटक म्याद थप गरिसकेको छ ।
हालसम्म ४४ प्रतिशत भुक्तानी भइसकेको र ५२ प्रतिशत काम भएको जनाइएको छ । चार वर्षमा सक्नुपर्ने काम ६ वर्षमा ५२ प्रतिशत काम भएको हो ।
६ वर्षमा दुई पटक म्याद थप गर्दा समेत ५२ प्रतिशत काम भएको छ । ठेकेदार कम्पनीले मंसिर लाग्दा पनि काम सुरु नगर्दा ११३ किमी सडक अलपत्र छ । ठेकोदार कम्पनीले पैसा अभावमा काम सुरु नगरेको सडक विभागका आयोजना निर्देशक चुडाराज ढकाल बताउँछन् ।
“चिनियाँ कम्पनीले पैसा नभएर काम गरेको छैन । हामीले काम गर भन्दा हाम्रो हेड अफिसबाट पैसा आउँदैछ भनेर पर्खाइरहेको छ,” उनले भने, “हामीले डिसेम्बरसम्म यति काम गर मार्चसम्म यति काम गर भनेर तोकेर दिएका छौं । हामी अब डिसेम्बरको अन्तिमबाट काम सुरु गर्छौ भनेर कम्पनीले भनेको छ । गर्दै गरेन भने ठेक्का तोडिन्छ ।”
काम निकै सुस्त भएपछि बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले काम सुरु नभए ठेक्का तोड्नुपर्ने बताएका थिए ।
बालुवाटारमा बिहीबार सडकखण्डमा निर्माणको काम रोकिएको विषयमा सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारी, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) सांसद र जनप्रतिनिधिसहितसँगको छलफलमा ओलीले रोकिएको काम आउँदो मंसिरभित्र सुरू नभएमा ठेक्का तोड्नुको विकल्प नहुने बताए ।
“जुन अपेक्षा र तीव्रताका साथ काम गर्न सोचेका थियौँ, त्यो हुन सकेन । त्यस क्षेत्रका बासिन्दाहरूले लामो समयदेखि कष्टपूर्ण रूपमा धुलो–मैलोमा बस्नुपरेको छ । आर्थिक विकासका गतिविधिमा पनि असर परेको छ,” प्रधानमन्त्री ओलीले भने ।
सरकारले उक्त आयोजनाको कम्पनीको म्याद तेस्रोपटक १० साउनमा एक वर्ष थपेको थियो । तर, म्याद थपपछि पनि काम सुरु भएको छैन् । असार लागेपछि विस्तारको काम स्थगित गरेर खाल्डाखुल्डी पुर्ने र मनसुनका कारण अवरुद्ध हुने सडक खुलाउने काम मात्रै गर्दै आएको थियो ।
ठेकेदार कम्पनीले काम सुरु गर्नुभन्दा पनि सडकको खाल्टाखुल्टी मात्रैमा सीमित भएको आयोजनाका पूर्वी खण्ड प्रमुख अनुक्षा घिमिरे बताउँछिन् । “तिहारअघिको बैठकमा तिहारलगत्तै काम सुरु गर्ने भनेको थियो । तर, अझै काम सुरु भएको छैन,” उनले भनिन् ।
करिब ६ वर्षदेखि वर्षामा हिलो र हिँउदमा धुलो हुने पहिचान बनाएको यो सडक हालसम्म आधा मात्रै काम भएको छ । सडक विभागका अनुसार हालसम्म ५२ प्रतिशतको हाराहारी निर्माण सकिएको छ ।
तीन जिल्ला रुपन्देही, नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) छुने यो सडक खण्डलाई दुई खण्ड छुट्याएर निर्माण भइरहेको छ । कुल ११३ किलोमिटर सडकमध्ये ७० किलोमिटर चार लेन तथा २९ किलोमिटर दुवैतर्फ ६–६ मिटर सर्भिस लेनसहितको निर्माण भइरहेको छ । यस्तै दाउन्नेको १४ किलोमिटर तीन लेनको सडक हुनेछ ।
निर्माण सुरु भएपछि कोभिड–१९ देखाएर काम भएको थिएन । यसै सरकारले समयमै साइट क्लियर नगरेको, वनले समयमै रुख काट्न स्वीकृति नदिएको लगायतका कारण देखाएपछि सरकारले दुई वर्ष म्याद थप गरेको थियो । दुई वर्षमा पनि नसकिएपछि गत महिना एक वर्षको लागि म्याद थप गरेको थियो ।
ठेक्का सम्झौतामा २४ प्रतिशत कम रकम कबोल गरेर ठेक्का पाएको कम्पनीले पैसा नभएको भन्दै आएको छ । कम्पनीले थप दुई अर्ब रकम दाबी गर्दै काम ठप्प पारेपछि सरकारले ठेक्का तोड्ने चेतावनी दिएका थिए । ठेकेदार कम्पनीले यस सडक मार्गमा आफूलाई सात अर्ब घाटा भइसकेको र थप काम गर्न आफूसँग पैसा नभएको भन्दै काम ठप्प पारेको थियो ।
उक्त कम्पनीसँग सम्झौतामा ठेक्का रकम १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ छ । लागतको ८५ प्रतिशत रकम एसियाली विकास बैंक (एडिबी)को ऋण तथा १५ प्रतिशत सरकारकै लगानीमा विस्तार भइरहेको हो । एडिबीले १.५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्नेगरी ऋण उपलब्ध गराएको थियो ।बाह्रखरीबाट
Facebook Comment