सहकारी ठगीमा रवि र छविविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी

NAWALPUR TIMES
प्रकाशित : २०८१ मंसिर २ गते १७:४२
सहकारी ठगीमा रवि र छविविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी

कावासोती । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी भएको छ ।

काठमाडौं जिल्ला अदालतका शिशिरराज ढकालले आइतबार पक्राउ पुर्जी जारीका लागि अनुमति दिएका हुन् । रविसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

अदालत स्रोतले उनीहरु दुई जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको पुष्टि गर्‍यो । योसँगै कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनीहरुमाथि अनुसन्धान गर्ने बाटो खुल्ला भएको छ ।

यसअघि प्रहरी वृत्त कालीमाटीमा जाहेरी परेपछि त्यहीँबाट अनुसन्धान सुरु भएको थियो । अहिले जिल्ला प्रहरी परिसरले कालीमाटीबाट फाइल झिकाएर अनुसन्धान अघि बढाएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेपछि उक्त फाइल परिसर झिकाएर प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको छ ।

यसअघि यो सहकारी ठगी प्रकरणमा २४ जनाविरुद्ध पक्राउ पुर्जी समेत जारी भएको थियो । यो सहकारीका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राई हुन् ।

प्रकाशित : २०८१ मंसिर २ गते १७:४२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI