लगानी सुरक्षाका लागि हामी तयार छौँ : मुख्यमन्त्री पाण्डे

NAWALPUR TIMES
प्रकाशित : २०८१ कार्तिक २७ गते ७:५२
लगानी सुरक्षाका लागि हामी तयार छौँ : मुख्यमन्त्री पाण्डे
मुख्यमन्त्री पाण्डे–मन्तव्य नवलपुर (नवलपरासी ब.स.पू.), २६ कात्तिक : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सोमबार नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–२ स्थित नारायणी नदी किनारमा सुरु भएको ‘दोस्रो गण्डकी प्रदेश महोत्सव–२०८१’ को समुद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै । तस्बिर : टेकराज पोखरेल/रासस

नवलपुर । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले व्यवसायीको लगानी सुरक्षाका लागि प्रदेश सरकार सधैँ तयार रहेको बताउनुभएको छ । व्यवसायीले गरेको लगानीमा कुनै सुरक्षाको खतरा भएमा आफूलाई भन्न आग्रह गर्दै मुख्यमन्त्री पाण्डेले सरकारले लगानी सुरक्षाको ग्यारेन्टी गर्ने प्रतिबद्धता जनाउनुभयो ।

आजदेखि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सुरु भएको ‘दोस्रो गण्डकी प्रदेश महोत्सव–२०८१’ को समुद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले लगानीमैत्री कानुन निर्माण गर्न आफूहरु सधैँ तयार रहेको बताउनुभयो । निजी क्षेत्रले गर्ने हरेक क्रियाकलापमा प्रदेश सरकार सधैँ सकारात्मक र सहयोगी भूमिकामा रहेको उहाँले बताउनुभयो । गण्डकी प्रदेशमा लगानी गर्न चाहने स्वदेशी वा विदेशी उद्योगी व्यवसायीहरुले यहाँ लगानी गर्न खोज्दा गण्डकी प्रदेश सरकारको ऐनकानुन बाधक छन् भने ती सबै संशोधन गर्न आफू तयार रहेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

गाउँघरको पैसा उठाएर जिल्ला बाहिर पठाउन महोत्सव हुने गरेको भन्दै उहाँले महोत्सवहरुले उत्पादनको बजारीकरण गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेशको आर्थिक गतिविधि चलायमान बनाउन त्रिवेणी कोरला नाका सञ्चालन गर्नुपर्ने र त्यसका लागि पूर्वाधार निर्माण गर्न सङ्घीय सरकारसँग पहल भइरहेको उहाँले बताउनुभयो । भारत र चीनसँग व्यापार गर्ने सबैभन्दा छोटो नाकाको रुपमा त्रिवेणी कोरला नाका भएको भन्दै पूर्वाधार निर्माण र सडक स्तरोन्तीको काम भइरहेको उहाँले बताउनुभयो ।

महोत्सव उद्घाटनका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्का अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो । व्यवसायमैत्री कानुन बनाउनका लागि नीति निर्माणमा निजी क्षेत्रलाई पनि सहभागी गराउनुपर्ने ढकालको भनाइ छ । नवलपुरको धौवादी फलाम खानीका लागि प्रत्येक वर्ष बजेट परेपनि योजना अघि बढ्न नसकेको भन्दै उहाँले निजी क्षेत्रसँग सहकार्य गरेर यस्तो आयोजनाहरुको काम अगाडि बढाउनुपर्नेमा सुझाव दिनुभयो ।

कार्यक्रममा गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले मेलाले स्थानीय उत्पादनलाई प्रवद्धर्न गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । मङ्सिर १० गतेसम्म सञ्चालन हुने महोत्सवमा तीन सय वटा स्टलहरु रहेका नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले बताउनुभयो । महोत्सवमा ५० वटा स्टलहरु कृषि तथा स्थानीय उत्पादन प्रवद्र्धनका लागि

निःशुल्करुपमा उपलब्ध गराइएको भन्दै उहाँले महोत्सवमा एक करोड बढीको कारोबार हुने अपेक्षा गरिएको बताउनुभयो ।
महोत्सव सुरु हुनुअगाडि गैँडाकोट नगरपालिकाबाट झाँकीसहितको शोभायात्रा निकालिएको थियो । शोभायात्रामा विभिन्न सङ्घसंस्था तथा जातीय समूहबाट सांस्कृतिक झाँकीहरु प्रस्तुतत गरिएको थियो । महोत्सव उद्घाटनका क्रममा निकालिएको झाँकीमा उत्कृष्ट हुने समूहलाई महोत्सव समापनका दिन नगद पुरस्कारसहित सम्मान गरिने छ ।

 

प्रकाशित : २०८१ कार्तिक २७ गते ७:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI