नेपालले थाइल्यान्डलाई १०६ रनले हरायो

NAWALPUR TIMES
प्रकाशित : २०८१ कार्तिक २५ गते १९:१२
नेपालले थाइल्यान्डलाई १०६ रनले हरायो

कावासोती । आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले तेस्रो जित निकालेको छ । आइतबार भएको आफ्नो चौथो खेलमा नेपालले थाइल्याण्डलाई १०६ रनको फराकिलो अन्तरले हराएको हो ।

नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको थाइल्याण्ड १६ ओभरमा ३३ रनमा अलआउट भयो । थाइल्याण्डका लागि कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

थाइल्याण्डलाई सस्तैमा अलआउट गर्न नेपालका कुसुम गोदारले ४ ओभरमा ९ रन दिएर ३ विकेट लिइन् भने रचनाकुमारी चौधरीले ३ ओभरमा ६ रन खर्चेर २ विकेट लिइन् । रिया शर्माले ४ ओभरमा १४ रन दिएर २ विकेट लिइन् भने कप्तान पूजा महतोले ४ ओभरमा २ मेडन राख्दै २ रन मात्र खर्चेर १ विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो । नेपालका लागि ओपनर सना प्रवीणले ४६ बलमा ७ चौकासहित सर्वाधिक ५३ रनको अर्धशतकीय पारी खेलिन्।

त्यस्तै अर्का ‍ओपनर साबित्री धामीले २८ रन बनाइन् । सोनी पाख्रिनले १९ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । कुनै समय १३ औं ओभरमा ८८-० को अवस्थामा रहेको नेपालले त्यसपछि लगातार रुपमा विकेट गुमाउँदै ५१ रन जोड्दा ९ विकेट गुमायो ।

थाइल्याण्डका लागि नथारिका ठोकोइले ४ ओभरमा ३१ रन दिएर ३ विकेट लिइन् । त्यस्तै केसिनी कैजुम्फोलले २ तथा कोरानित सुवाञ्चोनराथीले १ विकेट लिइन् ।

नेपालले यसअघि भएको पहिलो खेलमा पनि थाइल्याण्डलाई हराएको थियो भने दोस्रो खेलमा कुवेतलाई हराउँदा तेस्रो खेलमा यूएईसँग पराजित भएको थियो ।

प्रकाशित : २०८१ कार्तिक २५ गते १९:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI