गैँडा स्थानान्तरण रोक्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र

NAWALPUR TIMES
प्रकाशित : २०८१ कार्तिक २५ गते १४:२५
गैँडा स्थानान्तरण रोक्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र

कावासोती । नवलपुरका सरोकारवालाहरुले गैँडा स्थानान्तरण तत्काल रोक्न माग गर्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छ्न ।

आईतबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेललाई संरक्षण र पर्यटनको क्षेत्रमा काम गर्दै आएका नवलपुरका आधा दर्जन संघ संस्थाले गैँडा स्थानान्तरणले नवलपुरको जैविक विविधता, पर्यावरणीय सन्तुलन, पर्यटन उद्योगमा असर पर्ने भन्दै गैँडा स्थानान्तरण रोक्न आवश्यक पहाल गरिदिन प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलको ध्यानाकर्षण गराएका हुन ।

उनिहरुले बुझाएको ध्यानाकर्षण पत्रमा स्थानान्तरणको सट्टा मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि वैज्ञानिक विधि अवलम्बन गरि गैँडाको उचित व्यवस्थापन गर्नु पर्ने उल्लेख छ ।

नवलपुर होटल व्यवसायी संघ, नवलपुर पर्यटन समिति, नेचर गाईड एसोसिएसन नवलपुर, ऐतिहासिक कावासोती ताल संरक्षण समिति, हरियाली संस्था र कावासोती होटल व्यवसायी संघको नगर समितिले संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएका हुन ।

यस अघि गत कार्तिक २२ गते नवलपुर टाईम्समा चितवन राष्ट्रिय निकुञ्जले पश्चिम सेक्टरबाट थप गैँडा स्थानान्तरण गर्दै भन्ने समाचार प्रकाशित भए पछि स्थानान्तरण सहि समाधान नभएको र यसले नवलपुरको पर्यापर्यटनमा असर पुर्याउने भन्दै संरक्षण कर्मी तथा पर्यटन व्यवसायीले चिन्ता र चासो व्यक्त गरेका थिए ।

सन २०२२ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको नेतृत्वमा गठित प्राविधिक कार्यदलले गरेको एक वर्ष लामो सम्भाव्यता अध्ययनले निकुञ्जको पश्चिम सेक्टरबाट १० वटा गैँडालाई स्थानान्तरण गरेर पूर्वी सेक्टरमा लैजाने सिफारिस गरेको थियो । वन तथा वातावरण मन्त्रालयले उक्त कार्यदलको सिफारिस अनुसार १० वटा गैँडालाई स्थानान्तरण गर्न स्वीकृति दिए पछि २०८०को चैत महिना पश्चिम सेक्टरबाट ६ वटा गैँडालाई पूर्वी सेकटरमा स्थानान्तरण गरिएको थियो ।

निकुञ्जको तथ्यांक अनुसार निकुञ्जको पश्चिमी सेक्टरमा पूर्वी सेक्टरमा तुलनामा गैँडाको चाप बढी छ । कसरालाई मध्य क्षेत्र मान्दा भने त्योभन्दा पश्चिममा ६५ प्रतिशत र पूर्वमा ३५ प्रतिशत गैँडा रहेको तथ्याङ्क छ । निकुञ्जमा पछिल्लो गणना अनुसार ६९४ गैँडा छन ।

 

प्रकाशित : २०८१ कार्तिक २५ गते १४:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI