तेस्रो खेलमा यू एईसँग स्तब्ध बन्यो नेपाल

NAWALPUR TIMES
प्रकाशित : २०८१ कार्तिक २४ गते १४:५०
तेस्रो खेलमा यू एईसँग स्तब्ध बन्यो नेपाल

कावासोती । आइसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (यूएई) सँग १३ रनले पराजित भएको छ । १ सय २३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ४८ रन बनाइन् । उनले ४३ बलमा ५ चौका हिर्काइन् । साना प्रवीण र सोनी पाख्रिनले १९–१९ रनको योगदान दिए ।

ज्योत्सनिका मरासिनी ११ रन बनाउँदै नटआउट रहिन् । यूएईका लागि इन्धुजा नन्दकुमार, लाभन्या केनी र मेहक ठाकुरले १–१ विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २२ रन बनाएको थियो । यूएईका लागि रिनिथा रजितले सर्वाधिक ४८ रनको इनिङ्स खेलिन् । उनले मात्र ३३ बलमा ५ चौका र २ छक्का प्रहार गरिन् ।

त्यस्तै, ओपनर लभान्या केनीले ३२ बलमा २० रन जोडिन् । इन्धुजा नन्दकुमारले १४ बलमा १२ रनको योगदान दिइन् ।

नेपालका लागि रिया शर्माले ४ ओभर बलिङ गर्दै मात्र १२ रन खर्चेर ३ विकेट लिइन् । कप्तान पूजा महतो, करिस्मा गुरुङ र सीमा केसीले १–१ विकेट हात पारे ।

गत बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो । उक्त खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

नेपालले आफ्नो दोस्रो खेल बिहीबार कुवेतसँग खेलेको थियो । उक्त खेलमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो ।

प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यू–१९ महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ । यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।

प्रकाशित : २०८१ कार्तिक २४ गते १४:५०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI