‘दोस्रो गण्डकी प्रदेश महोत्सव’मा नेपालमै पहिलोपटक ‘अन्डरवाटर फिस टनेल’ राखिने

NAWALPUR TIMES
प्रकाशित : २०८१ कार्तिक २२ गते १९:४३
‘दोस्रो गण्डकी प्रदेश महोत्सव’मा नेपालमै पहिलोपटक ‘अन्डरवाटर फिस टनेल’ राखिने

कावासोती । नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको आयोजनामा नवलपुरको गैँडाकोटमा सञ्चालन हुन लागेको महोत्सवमा नेपालमा पहिलोपटक ‘अन्डरवाटर फिस टनेल’ राखिने भएको छ ।

गैँडाकोट–२ स्थित नारायणी नदीकिनारमा कात्तिक २६ देखि सञ्चालन हुने ‘दोस्रो गण्डकी प्रदेश महोत्सव–२०८१’ मा नेपालमै पहिलोपटक पानी भरिएको टनेलभित्र गएर माछा हेर्ने व्यवस्था गर्न लागिएको हो । महोत्सव स्थलमा ६० फिट चौडाइ तथा दुई सय फिट लम्बाइ भएको टनेलमा विभिन्न प्रकारका माछा राखेर टनेलबाट हेर्ने व्यवस्था गर्न लागिएको राजधानी एम्युजमेन्ट राइट्स नेपालका व्यवस्थापक अभय चौधरीले जानकारी दिए ।

टनेल भित्र पानीमा राखिने माछा ६ फिटसम्मको हुने भन्दै चौधरीले ती माछाहरु चाइनाबाट ल्याइएका तथा विभिन्न रङ्ग र आकारका भएका बताउनुभयो ।
टनेलभित्र एकैपटक पाँच सय जना मान्छे प्रवेश गरेर माछा हेर्ने व्यवस्था गर्न लागिएको उहाँले बताउनुभयो ।

दोस्रो संस्करणको महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा, शृङ्गारका सामानलगायतका तीन सय बढी स्टलहरु रहने महोत्सवका मूल संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले बताए। अहिले महोत्सव स्थलमा धमाधम स्टल निर्माण, विभिन्न जातजातिको सांस्कृतिक घर निर्माणलगायतका कामहरु भइरहेको भट्टचनले जानकारी दिए ।

सिङ्गो गण्डकी प्रदेशलाई मेलामार्फत जोड्न तथा पर्यटन प्रवद्र्धन गर्नका लागि यो महोत्सव आफैमा महत्वपूर्ण भएको भट्टचनको दाबी थियो । कात्तिक २६ गते सुरु भएर मङ्सिर १० गतेसम्म सञ्चालन हुने महोत्सवमा रु एक करोड ७० लाखको कारोबार हुने तथा रु ३० लाख बचत हुने अनुमान गरिएको मूल संयोजक भट्टचनको भनाइ छ ।

प्रकाशित : २०८१ कार्तिक २२ गते १९:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI