पश्चिम सेक्टरबाट थप गैँडा स्थानान्तरण गर्दै चितवन राष्ट्रिय निकुञ्ज

NAWALPUR TIMES
प्रकाशित : २०८१ कार्तिक २२ गते १७:५५
पश्चिम सेक्टरबाट थप गैँडा स्थानान्तरण गर्दै चितवन राष्ट्रिय निकुञ्ज

सन्जय भट्टराई, कावासोती । गत वर्षको चैतमा पश्चिम सेक्टरबाट ६ वटा गैँडा पूर्वी सेक्टरमा स्थानान्तरण गरेको चितवन राष्ट्रिय निकुञ्जले थप गैँडाहरु पूर्वी सेक्टरमा स्थानान्तरण गर्ने भएको छ ।

गैँडाको घनत्व र बाढीको जोखिमका हिसाबले निकुञ्जमा पश्चिमभन्दा पूर्वी क्षेत्र बढी सुरक्षित रहेकाले आन्तरिक रूपमा स्थानान्तरणको तयारीमा निकुञ्ज रहेको निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले जानकारी दिए ।

निकुञ्जको तथ्यांक अनुसार निकुञ्जको पश्चिमी सेक्टरमा पूर्वी सेक्टरमा तुलनामा गैँडाको चाप बढी छ । कसरालाई मध्य क्षेत्र मान्दा भने त्योभन्दा पश्चिममा ६५ प्रतिशत र पूर्वमा ३५ प्रतिशत गैँडा रहेको तथ्याङ्क छ । निकुञ्जमा पछिल्लो गणना अनुसार ६९४ गैँडा छन ।

सन २०२२ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको नेतृत्वमा गठित प्राविधिक कार्यदलले गरेको एक वर्ष लामो सम्भाव्यता अध्ययनले निकुञ्जको पश्चिम सेक्टरबाट १० वटा गैँडालाई स्थानान्तरण गरेर पूर्वी सेक्टरमा लैजाने सिफारिस गरेको थियो । वन तथा वातावरण मन्त्रालयले उक्त कार्यदलको सिफारिस अनुसार १० वटा गैँडालाई स्थानान्तरण गर्न स्वीकृति दिए पछि २०८०को चैत महिना पश्चिम सेक्टरबाट ६ वटा गैँडालाई पूर्वी सेकटरमा स्थानान्तरण गरिएको थियो ।

कार्यदलको सिफारिसका आधारमा गैँडाको घनत्व बढि, बास स्थाननको समस्या तथा मानव वन्यजन्तु द्वन्द र जलवायु परिवर्तनका कारण गैँडाको स्थानान्तरण गर्न लागिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्त बताउछन । जलवायु परिवर्तनको प्रभावले गैँडामा पर्ने असरबारे विद्यावारीधी गरेका प्रमुख संरक्षण अधिकृत पन्तले बाढीको जोखिमका हिसाबले चितवन निकुञ्जमा पश्चिमभन्दा पूर्वी क्षेत्र बढी सुरक्षित रहेकाले आन्तरिक रूपमा पनि गैँडा स्थानान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताए । पश्चिमतर्फका गैँडालाई पूर्वमा स्थानान्तरण गर्ने र ‘रेडियो कलर’ लगाएर अनुगमनलाई प्रभावकारी बनाउदा गैँडालाई बाढीको क्षतिबाट बचाउन सकिने उनको भनाई थियो ।

नारायणी, राप्ती जस्ता ठुला नदी रहेको चितवन राष्ट्रिय निकुञ्जमा अहिले पनि हरेक वर्ष जसो बाढी आइरहेको छ तर कति गैँडा बगाएको छ भन्ने यकिन तथ्याङ्क निकुञ्जसँग पनि छैन । भारतले पनि नदीमा बगेर पुगेका गैँडा उतै संरक्षण गर्न थालेपछि त्यसलाई उद्धार गरेर ल्याउन सक्ने अवस्था नभएकाले पनि गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गर्नु पर्नेमा उनको जोड थियो । त्यो बाहेक बासस्थान र मध्यवर्ती क्षेत्रमा हुने गरेको मानव वन्यजन्तु द्वन्दलाई कम गर्न समेत गैँडा स्थानान्तरण गर्नु पर्ने पन्तले बताए ।

पश्चिम सेक्टरबाट गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गर्दा पश्चिम सेक्टरको नवलपुर र यहाँको मध्यवर्ती क्षेत्रमा हुने गरेको पर्यटकीय गतिविधिमा असर पर्नेमा पर्यटन व्यवसायीले चिन्ता व्यक्त गरेका छन । लामो समय देखि संरक्षण र पर्यापर्यटनको क्षेत्रमा काम गर्दै आएका कावासोती नगरपालिकाका पूर्व नगर उपप्रमुख प्रेमशंकर मर्दनिया भने स्थानान्तरणले गैँडा संरक्षण नहुने बताए । बाढी, मानव वन्यजन्तु द्वन्द तथा बासस्थानको कारण देखाएर पश्चिम सेकटरबाट गैँडालाई पश्चिम सेक्टरबाट पूर्व तर्फ स्थानान्तरण गर्ने कुरा संरक्षण र पर्यापर्यटनको हिसाबले पनि उचित नहुने मर्दनियाको तर्क थियो । “बासस्थान, घाँसे मैदान र पानीको स्रोतको हिसाबले पनि पूर्वी सेक्टर भन्दा पश्चिम सेक्टर राम्रो छ, स्थानान्तरण गरेर गैँडा पूर्वी सेकटर पु¥याए पनि केहि दिनमा गैँडा फर्किएर यतै आउछन, स्थानान्तरणको बहानामा राज्यको धनरासी मात्रै खर्च हुन्छ, यस्ले पर्यापर्यटन र संरक्षणमा सहयोग पु¥याउदैन,” उनले भने ।

प्रकाशित : २०८१ कार्तिक २२ गते १७:५५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI