कावासोती । बुलिङ्गटारको भारतिपुरबाट क्षमता भन्दा धेरै यात्रु बोकेर दलदले आएका २ वटा जिपलाई ट्राफिक प्रहरीले कार्वाही गरेको छ ।
बुधबार क्षमता भन्दा धेरै यात्रु बोकेर दलदलले आउदै गरेको २ वटा जिपले प्रहरीको चेकिङ छल्न कुमसोतमा यात्रु झारेर केही तल आएर प्रहरी चढाएको समाचार नवलपुर टाईम्समा प्रकाशित भएको थियो ।
क्षमता भन्दा धेरै यात्रु बोक्ने लु १ ज ६८५१ र ग १ ज ७८३७ नं का दुईवटा जिपहरुलाई कार्वाही गरिएको जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक जनकराज बञ्न्जाराले जानकारी दिए ।
दुई वटा मध्ये एउटा जिप प्रहरी नियन्त्रणमा रहेको र अर्को यात्रु लिएर पहाड फर्किएकाले त्यसको कागजपत्र नियन्त्रणमा राखिएको उनले बताए । प्रहरी नियन्त्रणमा रहेको गाडीका चालकलाई बुधबार साँझ छोडिएको छ । त्यसरी क्षमता भन्दा धेरै यात्रु चढाउने जिपहरुलाई थप कार्वाहीको प्रक्रिया अगाडी बढाईने उनले बताए ।
थप कार्वाहीको विषयमा जिल्ला प्रहरी कार्यालयसँग समन्वय भैरहेको र कानुन बमोजिम कडा कार्वाही गरिने निरीक्षक बन्जाराको भनाइ थियो ।
जीपमा यात्रा गरेर दलदले सम्म आएका सागर शर्मा (नाम परिवर्तन) ले बीच बाटोमा क्षमता भन्दा धेरै यात्रु नचढाउन आग्रह गर्दा उल्टै चालक र सहचालकले गाली गर्ने थर्काउने गरेको बताए । कुमसोतमा चेकिङको क्रममा एक जना यात्रुले चेकिङ छल्न आफुहरुलाई हिडाएर केही तल जान भनेको कुरा प्रहरीलाई बताए पछि चेकिङमा खटिएका प्रहरीले उक्त जीपलाई दुई खेप गर्न लगाए । दुई खेप गर्न हिडेको जीपले पहिलो खेपका यात्रुलाई केही तल मुण्डेमानै झारेर अर्र्को खेप लिन गएको ती यात्रुले नवलपुर टाईम्सलाई बताए । प्रहरीलाई खबर गरे प्रहरीकै गाडी आउने जानु गर्नु, बिरामी पर्दा प्रहरीलाईनै बोलाउनु भनेर भावानात्मक दबाब समेत दिने गरेको ती यात्रु बताउछन ।
नवलपुरको दलदलेबाट पहाडी क्षेत्र जाने यातायातहरु नवलपुर लेकबेसी यातायात प्राली र चौतारी यातायात प्रालीका रहेका छन । दलदलेबाट माथी जाने बाटे उकालो, ओराली, धेरै घुम्ती तथा मोड एवं भिर भएको क्षेत्र पर्दछ । पटक पटक क्षमता भन्दा यात्रु बोकर फर्कने तथा जाने क्रममा दुर्घटना भएका छन ।
प्रकाशित : २०८१ कार्तिक २२ गते १०:४२
Facebook Comment