निबन्ध के हो र कसरी लेख्ने ?
प्रकाशित : २०८१ कार्तिक २१ गते १३:०४
राजन पाण्डे । मानिस विचारशील प्राणी हो। विचार पनि निरन्तरको अध्ययन, तथ्य र तथ्याङ्कहरूको विश्लेषण, तुलना र त्यसको परिस्कारबाट उत्कृष्ट बन्दै जान्छ। मानिसमा विचारहरूको सन्तुलन, विचारहरूको संग्रह, सृजनशीलता, आत्मबोध सकारात्मक चिन्तन नवीन सोच र त्यसको व्यवहारिक प्रयोग को समग्रतालाई निबन्ध अध्ययन र लेखनले सहयोग गर्ने गर्दछ। सानो कक्षामा अध्ययन गर्ने विद्यार्थी होस् वा ठूलो कक्षामा अध्ययन गर्ने विद्यार्थी वा स्वतन्त्र अध्ययन र लेखनमा लाग्ने जोसुकैलाई पनि निबन्धको अध्ययन र लेखनले धेरै फाइदा पुर्याउने गर्दछ।
यस लेखमार्फत निबन्ध के हो ? निबन्धका प्रकारहरू के के छन् ? कसरी लेख्दा निबन्ध राम्रो हुनसक्छ,र लेखानीमा ध्यान दिनुपर्ने कुराहरु के हुन् भन्ने जस्ता कुराहरुलाई विषय बनाएर प्रस्तुत गर्ने प्रयास गरिएको छ।
गद्य विधाको छोटो रचनालाई निबन्ध भनिन्छ । निबन्ध विचार भावलाई कलात्मक ढङ्गले प्रतिपादन गर्ने विधा हो। निबन्धमा भावना मिसिएको हुन्छ। भावना नमिसिएको निबन्ध निरस र सूचनाको थुप्रोजस्तो मात्र हुन्छ । निबन्ध साहित्यको अन्य विधा आख्यान, काव्य र नाटकभन्दा पछिल्लो समयमा लेख्न थालिएको साहित्यिक विधा हो। निबन्ध अहिले संसारभरि नै चर्चित र स्थापित बनिसकेको छ। निबन्ध विधाको जन्म फ्रान्समा भएको हो। निबन्ध विधा फस्टाउने र विस्तार हुने कामचाहिँ बेलायतमा भएको हो । निबन्ध साहित्यको स्वतन्त्र विधाको रूपमा स्थापित भइसकेको छ।
निबन्ध आत्मपरक र वस्तुपरक गरी दुई प्रकारले लेखिन्छ। आत्मपरक निबन्ध संवेदनाप्रधान हुन्छ भने वस्तुपरक निबन्ध विषयप्रधान हुन्छ ।
आत्मपरक निबन्धलाई निजात्मक भावपरक निबन्ध भनिन्छ। यस्तो निबन्धमा लेखकको निजी विचार वा कल्पना बढी हुन्छ। वस्तुपरक निबन्धलाई परात्मक निबन्ध भनिन्छ । यस्तो निबन्ध वर्णनात्मक, विवरणात्मक तथा विचारपरक हुन्छ। वस्तुपरक निबन्धमा सत्यता र विषयवस्तुको प्रधानता हुन्छ। आत्मपरक निबन्ध प्रथम पुरुष म हामीमा लेखिन्छ । वस्तुपरक निबन्ध तृतीय पुरुष दृष्टिविन्दुमा लेखिन्छ। आत्मपरक निबन्धमा निबन्धकारको निजी विचार व्यक्त गरिन्छ । वस्तुपरक निबन्धमा विषयलाई प्राथमिकता दिइन्छ। आत्मपरक निबन्धमा निबन्धकारले आफ्नो व्यक्तिगत र निजी विचारलाई कलात्मक भाषाका माध्यमबाट प्रस्तुत गर्नुपर्छ। वस्तुपरक निबन्धमा कुनै पनि विषयवस्तुमा आधारित भई त्यससँग सम्बन्धित सत्यतथ्य कुराको क्रमबद्ध वर्णन वा विवेचना गर्नुपर्छ । निचोडमा भन्नुपर्दा आत्मपरक निबन्ध कल्पनामा आधारित हुन्छ। वस्तुपरक निबन्धचाहिँ सत्यतथ्यमा आधारित हुन्छ । आत्मपरक निबन्ध भावनात्मक र विचारात्मक गरी दुई प्रकारका हुन्छन् । वस्तुपरक निबन्ध पनि विवरणात्मक र वर्णनात्मक गरी दुई प्रकारका हुन्छन् । भाव पक्षलाई जोड दिँदै कल्पनाको उडानका भरमा लेखिएको निबन्धलाई भावनात्मक निबन्ध भनिन्छ । तर्क, चिन्तन र विचारको प्रधानता रहेको निबन्ध विचारात्मक निबन्ध हो।
जुनसुकै घटनालाई सिलसिला मिलाई पूर्ण विवरणका साथ प्रस्तुत गरिने निबन्ध नै विवरणात्मक निबन्ध हो । आफूले अनुभव गरेको वस्तु, घटना, प्रकृति आदिको भएकोले शैलीलाई निबन्धको प्रमुख तत्त्वका रूपमा मानिन्छ। निबन्धमा रसिला, रमाइला र विषयवस्तु सुहाउँदो शैली हुनुपर्छ।
उद्धेश्य : निबन्धकारले आफ्नो कुनै न कुनै उद्देश्य पूरा गर्नका लागि निबन्ध लेख्छन् । प्रायःजसो निबन्धकारले आत्मप्रकाशन र सूचना दिने उद्देश्यले निबन्ध लेख्दछन् । निबन्धकारले देखेका, भोगेका, सुनेका, अनुभव गरेका र कल्पना गरेका कुरालाई कलात्मक ढङ्गबाट पाठकसमक्ष प्रस्तुत गर्नु नै निबन्धको मुख्य उद्देश्य हो। निबन्धकारले निजी दृष्टिकोण र अनुभूतिका माध्यमबाट स्वको चिनारी गराउनु आत्मप्रकाशन हो । निबन्धको उद्देश्य सूचना प्रदान गर्नु पनि हो। आफूले जाने बुझेको कुरोलाई आम पाठकसमक्ष निबन्धमार्फत् सूचना पुऱ्याउने उद्देश्य निबन्धकारको हुन्छ।
निबन्धलाई निम्न चरणमा लेख्न सकिन्छ
- विषय अथवा शीर्षकको चयन
- बुँदाटिपोट
- सामाग्री संकलन
- क्रम निर्धारण
- अनुच्छेद लेखन
- निष्कर्ष लेखन
- पुनर्लेखन
यसरी सात चरण्मा निबन्ध लेखिन्छ ।
विषय अथवा शीर्षकको चयन : निवन्धकारले जानेको बुझेको, अनुभव वा अनुभुति गरेकोमध्ये कुन विषयमा निबन्ध लेख्ने हो रु विषयको छनोट गरी विषयअनुसारको उपयुक्त शीर्षक छनोट गर्नुपर्छ। शीर्षकले निबन्धको सिङ्गो विषयवस्तुको प्रतिनिधित्व गर्नुपर्छ । शीर्षक सकेसम्म छोटो र चोटिलो हुनुपर्छ। निबन्धको शीर्षक आकर्षक हुनुपर्छ। शीर्षकले ने सिङ्गो निबन्धको झलक देखाउनुपर्छ । निबन्धकारले विषयवस्तुको आधारमा निबन्ध लेख्न सक्नुपर्छ।
सामग्री सङ्कलन : निबन्धकारले निबन्ध लेख्नका लागि छनोट गरेका विषयसँग सम्बन्धित सामग्री अध्ययनका लागि सङ्कलन गर्नुपर्छ।
बुँदा टिपोट : निबन्ध लेख्नका लागि सबभन्दा पहिले विषय छनोट गर्नुपर्छ । विषय छनोटपछि शीर्षक लेख्ने । विषय र शीर्षक छनोटपछि सामग्रीको आधारमा आवश्यक तथ्यहरूलाई सिलसिलेवार तरिकाले बुँदामा टिपोट गर्नुपर्छ।
क्रम निर्धारण : बुँदाका आधारमा निबन्धलाई आदि, मध्य र अन्त्यसम्म कसरी लेख्ने रु भनेर क्रम मिलाउनुपर्छ । निबन्ध लेख्दा आदि अथवा सुरुमा विषयवस्तुको परिचय दिनुपर्छ । मध्यमा विषयवस्तुको व्याख्या र राम्रा नराम्रा पक्ष लेख्नुपर्छ। अन्त्यमा सिङ्गै निबन्धको निष्कर्ष लेख्नुपर्छ।
निष्कर्ष लेखन : निबन्ध लेखिसकेपछि आफूले लेखेको निवन्ध अध्ययन गरेर निष्कर्ष लेख्नुपर्छ।
पुनर्लेखन : निबन्धलाई जति धेरै पटक पुनर्लेखन गर्यो त्यति नै स्तरीय हुन्छ। निबन्धलाई स्तरीय बनाउन पटकपटक पुनर्लेखन गर्नुपर्छ।
निबन्ध सुललित, हास्यव्यङ्ग्य, नियात्रा, वेतनप्रवाह, पत्रात्मक, दैनिकी, संस्मरण, जीवनी गरी आठ प्रकारका हुन्छन्।
विषयवस्तुका आधारमा निबन्ध वर्णनात्मक, विवरणात्मक, विचारात्मक र भावनात्मक गरी चार प्रकारका हुन्छन् ।
वर्णनात्मक : कुनै विषयको नालीबेली खुट्याएर वर्णन गर्ने काम वर्णनात्मक निबन्धले गर्नुपर्छ। वर्णनात्मक निबन्धको विषय प्राणी भए प्राणी पाइने स्थान, आकारप्रकार, स्वभाव, विचित्रता र उपसंहार मिलाएर लेख्नुपर्छ । विषय मान्छे भए परिचय, प्राचीन इतिहास, वंश परम्परा, भाषा, धर्म, सामाजिक, सांस्कृतिक र राजनीतिक जीवन समेट्नुपर्छ। विषय स्थान भए स्थान, नामकरण, इतिहास, जलवायु, शिल्प, व्यापार, जाति, धर्म, रमणीय स्थान आदि समेट्नुपर्छ। विषय वस्तु भए उत्पत्ति, प्राकृतिक वा कृत्रिम, प्राप्तिस्थान, कुन अवस्थामा पाइन्छ रु कृत्रिमताको इतिहास, उपसंहार आदि समेट्नुपर्छ ।
विवरणात्मक : विवरणात्मक निबन्धमा निबन्धकारले कुनै खास घटना वा विषयको बेलिविस्तार लगाउनुपर्छ । विषय ऐतिहासिक भए घटना, समय र स्थान, ऐतिहासिकता,पृष्ठभूमि, कारण र वर्णन राम्रो नराम्रो पक्ष निबन्धकारको धारणामा समेट्नुपर्छ । विषय जीवन चरित्र भए परिचय, जन्म, वंश, आमाबुबा, बाल्यकाल, शिक्षा, पेशा, राष्ट्र वा विश्वकै लागि पुऱ्याएको योगदान, राम्रा नराम्रा पक्ष, मृत्यु, भावी पुस्ताका लागि उनको आदर्श। विषय भ्रमण वृतान्त भए परिचय, उद्देश्य, समय आरम्भ, यात्राको विवरण, उपलब्धि, सामाजिक(आर्थिक स्थिति, व्यापार, कला संस्कृति, यात्राको समीक्षा र निष्कर्ष समेट्नुपर्छ । विषय आकस्मिक घटना भए परिचय, गते, स्थान, कारण, विवरण, घटनाका अन्त्य, उपलब्धि र समीक्षा समेट्नुपर्छ ।
विचारात्मक : विचारात्मक निबन्धमा लेखकले बीचबीचमा आफ्नो विचार दिन्छ । धर्म, दर्शन, राजनीति, साहित्य, संस्कति आदि जुनसुकै विषयवस्तुमा विचारात्मक निबन्ध लेख्न सकिन्छ । कुनै गुणदोष वा उपलब्धिको वर्णन विचारात्मक निबन्धमा गरिन्छ। विचारात्मक निबन्ध अर्थ, परिभाषा, परिचय, सार्वजनिक, सामाजिक, स्वभाव, संयम, गुणदोष, नाफा नोक्सान, दृष्टान्त प्रमाण समेटेर लेखिन्छ।
भावात्मक निबन्ध : भावात्मक निबन्धमा अमुर्त भावहरूको उपस्थापन हुन्छ । दया, देशप्रेम, करुणा, आशा आदि भावात्मक निबन्धका विषयवस्तु हुन् । यसमा हार्दिकता, सौकुमार्य र संवेदनशीलता हुन्छ ।
विषयवस्तुको आधारमा वस्तुपरक, भावपरक र विचारपरक गरी तीन प्रकारका निबन्ध हुन्छन् ।
वस्तुपरक निबन्ध : वस्तुपरक निबन्धमा विषयवस्तुको यथार्थता र तथ्यहरूको मात्रा बढी हुन्छ। वस्तुपरक निबन्धमा निबन्धकार स्वयम् उपस्थित नभई दर्शकजस्तो बनेर विषयवस्तुको विश्लेषणात्मक प्रस्तुति गर्नुपर्छ ।
भावपरक निबन्ध : भावपरक निबन्धमा साहित्यिकता र आत्मपरकता हुनुपर्छ । विचारात्मक निबन्धमा कुनै सिद्धान्त वा विचारको पृष्ठभूमि, विषयवस्तुलाई तार्किक र विश्लेषणात्मक तरिकाले प्रस्तुत गर्नुपर्छ ।
विचारपरक निबन्ध : निबन्धमा बाह्य घटना, पात्र, परिवेशको भन्दा निबन्धकारको निजी विचार र दृष्टिकोणको विशेष भूमिका हुन्छ । निबन्ध जुनसुकै विषयमा लेख्न सकिन्छ। स्रष्टाको रुचि क्षमता चिन्तन विचार र ज्ञानको आधारमा एउटा निश्चित विषयवस्तुमा निबन्ध लेख्नुपर्छ ।
निबन्ध निर्देशित र स्वतन्त्र गरी दुई तरिकाले लेखिन्छ । विद्यालय वा विश्वविद्यालयका विद्यार्थीहरूलाई लेखाइने निबन्ध निर्देशित निबन्ध लेखन हो। यस्ता निबन्ध लेख्नका लागि शीर्षक, विषय र शब्द सङ्ख्यासमेत तोकिएको हुन्छ । स्वतन्त्र लेखनका लागि कुनै पनि सीमा बन्धन हुँदैन ।
निबन्ध एक प्रकारको आत्मप्रकाशनका प्रयत्न हो । निबन्धकारले निबन्धमार्फत् स्वको अभिव्यक्ति गर्दछ । निबन्धकारले पाठकसमक्ष निकटतम आत्मीयता स्थापित गर्नुपर्छ । सीधै शिक्षा दिने, सन्देश वा उपदेश दिने कामचाहिँ गर्नु हुन्न । निबन्धले लेखकलाई आफूसँग भएको ज्ञानलाई अरूसमक्ष प्रस्तुत गर्ने अवसर प्रदान गर्छ ।
धार्मिक पर्व, सांस्कृतिक पर्व, राष्ट्रिय पर्व, समस्या, मौसम, सामाजिक राजनीतिक आर्थिक वैज्ञानिकलगायत दुनियाकाँ जुनसुकै विषयमा निबन्ध लेख्न सकिन्छ। व्यक्तिगत चिनजान वा कुनै स्वार्थले निबन्धको विषयवस्तुमा प्रभाव पार्नु हुन्न । आफूले लेखेको निबन्ध सबैले मन नपराउन सक्छन् तर निबन्ध निष्पक्ष भएर लेख्नुपर्छ । निष्पक्षता नै निबन्धको पहिलो र अन्तिम कडी हो।
निबन्ध लेख्दा ध्यान दिनुपर्ने कुराहरू :
- निबन्ध लेख्नुभन्दा पहिले सम्बन्धित विषयको ज्ञान हुनुपर्छ ।
- क्रमबद्ध तरिकाले विचारलाई प्रस्तुत गर्नुपर्छ ।
- निबन्धको भाषा सरल र रोचक हुनुपर्छ ।
- निबन्धका वाक्य छोटा र सरल हुनुपर्छ
- निबन्धमा अनावश्यक वर्णन गर्नुहुन्न । छोटो र सटिक तरिकाले लेख्नुपर्छ । शब्द चयनमा ध्यान दिनुपर्छ । अनावश्यक शब्दको प्रयोग गर्नुहुँदैन ।
- व्याकरणको नियम उचित ढङ्गले प्रयोग गर्नुपर्छ ।
- निबन्धमा विषयअनुसार प्रेरक प्रसङ्गको उल्लेख गर्दा रोचक हुन्छ ।
- सुरु, मध्य र अन्त्यमा कुनै उक्ति वा विषयसँग सम्बन्धित कविताका पंक्तिहरू प्रयोग गरियो भने निबन्ध थप रोचक बन्छ ।
आत्मप्रकाशनको क्षमताको अभिवृद्धि, सामयिक चेतनाका विकास, भाषिक क्षमताको विकास, कल्पनाशक्तिको विकास र विषयको ज्ञान बढाउनु निबन्धका विशेषता हुन् ।
निबन्ध साहित्यिक र तथ्यपरक गरी दुई प्रकारका हुन्छन् । साहित्यिक निबन्ध रागात्मक भाषा र आलाङ्कारिता र कलात्मक हुन्छ । तथ्यपरक निबन्ध बढी वस्तुपरक हुन्छ । विद्यालय, विश्वविद्यालय लगायत विभिन्न सङ्घसंस्थाहरूले आफ्नो उद्देश्यलाई प्रचारप्रसार गर्ने उद्देश्यले आफूसँग सम्बन्धित विषय दिएर वा नदिई प्रतियोगिताका लागि अथवा परीक्षाका लागि तथ्यपरक निबन्ध लेखाइन्छ ।
ठट्यौली पाराले गरिने छेडपेड वा हँसाउने खालको तिखो व्यङ्ग्य गरी लेखिएको निबन्धलाई हास्यव्यङ्ग्य निबन्ध भनिन्छ । त्यस तरिकाले प्रस्तुत गर्न सक्नु निबन्धकारको उत्कृष्ट खुबी मानिन्छ । पाठकले निबन्ध पढ्दा आफ्नै जीवनमा घटेका घटनाको सम्झना गर्ने खालको हुनुपर्छ । पाठक निबन्धमा चुर्लुम्म डुब्नुपर्छ। पाठकले जति धेरै आत्मसात गर्छन् त्यति नै निबन्ध सफल भएको मानिन्छ ।
विद्यालयदेखि विश्वविद्यालयका उच्च कक्षासम्म किन निबन्ध समावेश गरिन्छ ?
विद्यार्थीबाट माथि उल्लिखित लक्ष्य प्राप्तिका लागि विद्यालयका साना साना कक्षादेखि विश्वविद्यालयका उच्च कक्षासम्म निबन्धको प्रयोग गर्ने गरिन्छ ।
निबन्ध लेख्नका लागि विचार सङ्कलन गर्ने तरिका:
- अरूले लेखेका उत्कृष्ट निबन्ध अध्ययन गर्नाले आफ्नो दिमागमा पनि निबन्धको खाका बन्दै जान्छ।
- इन्टरनेट लगायतका विभिन्न सामाजिक सञ्जाल र पुस्तकालयको सहायता लिनुपर्छ ।
- आफूले छानेको विषयमा आफ्नो धारणा के छ र ? त्यो पारिवारिक सदस्य, आफन्त र साथीभाइसँग छलफल
गरेर आफ्नो धारणा स्पष्ट पार्नुपर्छ । - आफ्नो अनुभवमा आधारित भएर लेख्ने सङ्क्षेपमा निबन्ध छोटो छरितो गद्य विधा हो । मनका कुरा पोख्ने माध्यम हो। कुनै विषयमा तटस्थ भएर गरिने वर्णन हो। सामान्य विषयदेखि विशाल विषयसमेतमा लेख्न सकिने विधा हो। निबन्ध जति लेख्यो त्यति परिस्कृत हुँदै जान्छ। निबन्ध साहित्यका मुख्य विधाहरूमध्येको एक हो । यसलाई मुक्त विधा पनि भनिन्छ । मानव मनमा उब्जिएको भावना र विचारको स्वतन्त्र गद्य अभिव्यक्ति नै निबन्ध हो । निबन्धमा विषय विशेषको प्रतिबिम्ब हुन्छ । निबन्धमा आन्तरिक आवेश, अनुभूति र मानसिकताको प्रभाव हुन्छ । निबन्ध विषय र आत्मासँग सम्बन्धित हुन्छ । विषय निबन्धको प्राण तत्त्व हो । निबन्धको सन्देशले गतिशीलता र यथार्थतालाई आत्मसाथ गर्न सक्नुपर्छ। यसैलाई नै निबन्धको मर्म भनिन्छ। यसैलाई नै निबन्धकारको धर्म भनिन्छ।
(लेखक कावासोती नगरपालिकाका शिक्षा अधिकृत हुन ।)
Facebook Comment