कावासोती । शहरी विकास मन्त्रालयले वन मन्त्रालयलाई रुख हटाउन प्रक्रियागत रुपमा पत्र पठाएसँगै नवलपुरको कावासोतीमा निर्माण हुने नमूना सदरमुकाम स्थलमा रहेका रुखहरु काटने बाटो खुलेको छ ।
मन्त्रालयले कार्तिक ७ गते सचिब स्तरीय निर्णय गरेर रुख कटानका लागि वन मन्त्रालयलाई रुख काटन अनुरोध पत्र पठाएको मन्त्रालयका भवन आवास तथा योजना महाशाखाका प्रमुख दिलिप भण्डारीले जानकारी दिए ।
वन मन्त्रालयले गत असोज १६ गते नमुना सदरमुकाम निर्माण गरिने ज्योति कुञ्ज सामुदायिक वन क्षेत्रको जग्गाको स्वामित्व राष्ट्रिय आवस कम्पनी लिमिटेडको रहेकाले सो क्षेत्रका सरकारी रुख हटाउन शहरी विकास मन्त्रालयबाट अनुरोध पत्र माग गरेको थियो ।
वन मन्त्रालयले माग गरे अनुसार शहरी विकास मन्त्रालयको सचिब स्तरको निर्णय अनुसार अनुरोध पत्र वन मन्त्रालय पठाईएको प्रमुख भण्डारीले जानकारी दिए ।
वन मन्त्रालयले नमुना सदरमुकाम निर्माण स्थलको जग्गा राष्ट्रिय आवास कम्पनी लिमिटेडको स्वामित्वमा रहेकाले सरकारी रुख हटाउने मापदण्ड २०७१ को ३ मा उल्लेख गरे अनुसार मुक्त कमैया, पुर्नवास वा यस्तै प्रकृतिका बसोबास प्रयोजनका लागि उपलब्ध गराईएका वन क्षेत्रका रुखहरु सम्बन्धित मन्त्रालयको अनुरोधमा वन तथा भुसंरक्षण मन्त्रालयले हटाउने कानुनी व्यवस्था अनुसार शहरी विकास मन्त्रालय सँग अनुरोध पत्र माग गरेको थियो ।
शहरी विकास मन्त्रालयले वन तथा भु संरक्षण मन्त्रालयले माग गरे अनुसार सरकारी रुख हटाउने मापदण्ड २०७१ को बुदां नं ५ अनुसार कटान मुछन गरी हटाउन स्वीकृति माग गर्ने, कटान भएका रुखहरु बापत सोधभर्ना स्वरुप गरिने क्षति पूर्ति वृक्षारोपण सम्बन्धी ऐन, २०७६, बाताबरण संरक्षण ऐन २०७६, बन नियमावली २०७९ तथा प्रचलित कानून बमोजिम सो स्थलको रुख कटान गर्न वन तथा भु संरक्षण मन्त्रालयलाई अनुरोध गरेर पत्र पठाएको हो ।
शहरी विकास मन्त्रालयले पठाएको पत्र भोलीनै वन मन्त्रालय पुग्ने र केही दिनमा वन मन्त्रालयबाट रुख कटानको सहमति आउने नवलपुर क्षेत्र नं २ का संघीय सांसद विष्णु कुमार कार्कीले बताए । रुख कटानको सहमती आए सँगै डिभिजन वनले रुख कटान गर्ने र नमूना सदरमुकामको निर्माणले गति लिने कार्कीले बताए ।
कावासोती नगरपालिका– ३ मा रहेको ज्योतिकुञ्ज सामुदायिक वनभित्र रहेको १८६ बिघा जग्गामा नमुना सदरमुकाम निर्माणका लागि काम थालिएको हो। पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, कोष तथा लेखा नियन्त्रण कार्यालयलगायतका गरी पाँचवटा कार्यालय सर्ने गरी तीनवटा भवन निर्माणको ठेक्का लागेको छ।
भवन निर्माणको जिम्मा पाएको रौतहटको चौधरी कन्स्ट्रक्सनको टोली भवन निर्माणस्थलमा आइपुगे पनि रुख कटानको आदेश नआउँदा निर्माण कार्य सुरु हुन सकेको थिएन । “अब रुख कटान आदेश सहमति तत्काल आउँछ, निर्माणको काममा अब ढिलाई हुँदैन”, सांसद कार्कीले भने ।
प्रकाशित : २०८१ कार्तिक ८ गते १७:५३
Facebook Comment