एमाले जिल्ला कार्यालय बनाउन कावासोती नगरपालिकाको बजेट

NAWALPUR TIMES
प्रकाशित : २०८१ कार्तिक २ गते १२:१३
एमाले जिल्ला कार्यालय बनाउन कावासोती नगरपालिकाको बजेट

कावासोती । कावासोती नगरपालिकाले एमालेको जिल्ला पार्टी कार्यालय भवन बनाउन २७ लाख रुपैयाँ निकासा दिएको छ । एमाले नवलपुरले मदन भण्डारी स्मृति प्रतिष्ठान नामक संस्था दर्ता गरेर कावासोती नगरपालिकाबाट भवन निर्माणका लागि २७ लाख बढी रकम भुक्तानी लिएको छ ।

कावासोती नगरपालिका वडा नम्बर ३ स्थित ४,ख कित्ता नम्बर १०४८ र १०४९ मा एक निजी बोर्डिङ स्कुलका सञ्चालक एवं एमाले जिल्ला कमिटि सदस्य भोजराज दाहालले दिएको १ कठ्ठा ६ धुर जग्गामा पार्टी भवन बनाउन नगरपालिकाले रकम निकासा दिएको हो । गत असोज २० गते आइतबार कावासोतीमा सम्पन्न एमाले जिल्ला कमिटीको बैठक पछि जारी गरिएको अन्तर पार्टी निर्देशन २ को ९ मा भवनकालागि कावासोती नगरपालिकावाट रकम निकासा भएको उल्लेख छ । नगरपालिकाले भवन निर्माणका लागि ३० लाख रकम बिनियोजन गरिएकोमा बिल भर्पाई मिलाउँदा २७ लाख मात्र निकासा दिइएको नगरपालिकाका एक कर्मचारीले जानकारी दिए । भवन निर्माण सम्पन्न भइसकेपछि नगरपालिकाले दसैंअघि रकम भुक्तानी दिएको हो ।

एमाले जिल्ला सचिव भिम कँडेलले मदन भण्डारी स्मृति संस्थाको नाममा २७ लाख रकम निकासा गरेर पार्टी कार्यालयको भवनमा लगानी गरेको जानकारी दिए । सोझै पार्टी कार्यालयलाई दिन नमिल्ने भएकाले त्यसरी रकम निकासा गरिएको उनले सुनाए । नगरपालिकाकी उपमेयर फूलकुमारी थनेतले पनि उक्त रकम मदन भण्डारी स्मृति संस्थाका लागि दिइएको बताइन् । कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेल यसबारे पटक–पटक सम्पर्क गर्दा पनि उनि सम्पर्कमा आउन चाहेनन् ।नवलपुरको सदरमुकाम रहेको कावासोती नगरपालिकामा मेयर , उपमेयरसहित स्पष्ट बहुमत एमालेको रहेको छ । यहाँ अघिल्लो पटक पनि एमालेले स्पष्ट बहुमत ल्याएको थियो ।

प्रकाशित : २०८१ कार्तिक २ गते १२:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI