दिपायलबाट नवलपुर आएर व्यवसायिक तरकारी खेतिमा जमेका नवराज

NAWALPUR TIMES
प्रकाशित : २०८१ कार्तिक १ गते १३:४७
दिपायलबाट नवलपुर आएर व्यवसायिक तरकारी खेतिमा जमेका नवराज

सन्जय भट्टराई, कावासोती । उमेरले भरखरै तीन दशकको आसपासका नवराज पनेरुको दैनिकी बिहान देखि साँझ सम्म तरकारी बारीमा मै बित्छ । सँगैका साथीभाईहरु वैदेशिक रोजगार र अन्य पेशामा लागेर भविष्य बनाउन लागे पनि उनी भने सुदुरपश्चिमको दिपायल देखि नवलपुर आएर तरकारी खेतिमा रमाईरहेका छन । दिपायलमा रहेको सेती प्राविधिक शिक्षालयबाट जेटिए पास गरेका उनि विगत ४ वर्ष देखि नवलपुरको मध्यविन्दु-३ लेडाहामा आएर तरकारी खेती गरिरहेका हुन ।

अध्ययन सकेपछी चितवन आएर एक वर्ष कृषि फर्ममा एक वर्ष काम गरेका पनेरु त्यसको एक वर्ष पछि नवलपुरको मध्यविन्दुमा युवा आधुनिक कृषि फर्म स्थापना गरेर व्यवसायिक तरकारी खेतीमा लागेका हुन । मध्यविन्दु-३ मा आएर सुरुमा १ बिघा जमिन भाडामा लिएर व्यवसायिक तरकारी खेती सुरु गरेका उनले अहिले साढे चार बिघा अर्थात ९० कट्ठा जमिन भाडामा लिएर विभिन्न प्रजातीका तरकारी उत्पादन गर्ने गरेका छ्न ।

यति बेला लौका र काक्राले उनको फर्मका बारीहरु भरिएका छ्न । हरेक ३/४ दिनमा उनलाई तरकारी टिपेर बजार पठाउन माचो हुने गरेको छ । सुरु सुरुमा सानो परिणाममा तरकारी उत्पादन गर्दा स्थानिय बजारमा तरकारी बेच्ने गरेका पनेरुले अहिले भने यहाँ उत्पादित तरकारी काठमाडौको कालिमाटी, नारायणघाट, बुटवल जस्ता ठुला शहरमा पठाउने गरेका छ्न । उनले लौकासँगै काक्रा, खुर्सानी, फर्सी, टमाटर, भाण्टा लगाएतका तरकारी उत्पादन गरेर बजारमा पठाउने गरेका छ्न ।

चितवनकै कृषि फर्ममा काम गर्ने क्रममा एक जना साथीले दिएको सल्लाह अनुसार नवलपुर आएर विगत चार वर्ष देखि तरकारी खेतिमा जमेका पनेरुले १० लाखको लगानि गर्दा २५ लाख सम्म आम्दानी गरेको बताउछ्न । उनले तरकारीको आम्दानीबाट आफ्नो परिवार मात्रै पालेका छैन्न, उनको फर्ममा दुई जना दैनिक काम गर्ने कृषि मजदुर र हरेक ३/४ दिनमा तरकारी टिप्ने कामका लागि स्थानीय १०/१२ जना महिलाहरुलाई समेत रोजगारीको अवसर सृजना गरिदिएका छ्न ।

आफै कृषि प्राविधिक जेटिए भएका कारणले पनि उनलाई तरकारी खेति गर्न सहज भएको छ । जोत्ने, रोप्ने, सिचाइ गर्ने, मलखाद्य तथा विषादीको प्रयोग र माटो उर्वरा शक्तिको विषयमा नजिकबाट आफू जानकार रहेकोले पनि यो पेशामा सहज भएको उनी बताउछ्न ।

पछिल्लो समयमा बजारमा आउने तरकारीमा विषादीको प्रयोगले उपभोक्ताको स्वास्थ्यमा पर्ने असरको विषयमा सचेत रहेको र विषादीको प्रयोग गर्दा किसान र उपभोक्ताको स्वास्थ्यलाई असर नपार्ने गरेर गरिने उनी बताउछ्न । विषादीको ज्ञान नभएका कारणले सर्वसाधारण किसानले सोझै भेटेनरीबाट विषादी किनेर प्रयोग गर्दा प्रयोगकर्ता किसान र उपभोक्ताको स्वास्थ्यमा समस्या आउने गरेको उनी बताउछ्न । आफुले अध्ययन गरेको क्षेत्र भएका कारणले पनि विषादीको प्रयोगमा पुर्ण सचेत रहेको पनेरुले आफुले उत्पादन गरेको तरकारी उपभोक्ताको भान्सा सम्म पुग्दा विषादीको असर नहुने दाबी समेत गरेका छ्न ।

व्यवसायिक रुपमा तरकारी खेती गर्न सक्ने हो भने नेपालमा केही गर्न सकिन्छ भन्ने उदाहरण बनेका नवराजले अहिलेसम्म सरकारी निकायबाट अनुदान सहयोग भने लिएका छैन्न । आगामी दिनमा सरकारी निकायको अनुदान लिएर तरकारी खेतिलाई थप बिस्तार गर्ने योजना बनाएको उनले बताए ।

अनुदान मात्रै नभएर सरकारले तरकारीको बजार बिस्तारमा पर्याप्त ध्यान दिनु पर्ने बताएका नवराजले भारतिय तरकारीकै कारण अहिले पनि नेपाली किसान समस्यामा पर्ने गरेको सुनाए ।  १५० प्रतिकिलो सम्म बेच्दै आएको लौकाको भाउ बजारमा भारतिय लौका आएपछी घटेर १३०/१३५ प्रतिकिलोमा बेच्नु परेको उनले बताए  । अत्याधिक विषादी प्रयोग गरेर उत्पादन गरिएका भारतिय तरकारीको अगाडि नेपाली किसानले फलाएको तरकारीलाई बजारमा टिकाउन गार्हो हुने गरेको उनको अनुभव छ  ।

प्रकाशित : २०८१ कार्तिक १ गते १३:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI