कावासोती । आईसीसी महिला टी–२० विश्वकपको महत्वपूर्ण खेलमा अष्ट्रेलियाले भारतलाई ९ रनले पराजित गरेको छ । भारतलाई पराजित गरेसँगै अस्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेको छ । अस्ट्रेलियाले लगातार नवौं पटक सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा १५१ रन बनाएको थियो । जवाफमा भारतीय टोलीले २० ओभरमा ९ विकेट गुमाएर १४२ रन मात्रै बनाउन सक्यो ।
रोमाञ्चक खेलमा भारतीय कप्तान हरमनप्रीत कौरले ५४ रन बनाए पनि टोलीलाई जीत दिलाउन सकिनन् । शफाली वर्माले २० र दीप्ती शर्माले २९ रनको योगदान दिइन् ।
यसअघि अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । अष्ट्रेलियाका लागि ग्रेस ह्यारिसले सर्वाधिक ४० रन बनाइन् । तालिया म्याकग्रा र एलिस पेरीले ३२–३२ रनको योगदान दिइन् । भारतका लागि रेणुका सिंह र दीप्ती शर्माले २–२ विकेट लिइन् ।
हारसँगै भारतको सेमिफाइनल यात्र कठिन बनेको छ । आज न्युजिल्यान्ड र पाकिस्तानबीच खेल हुँदैछ । न्युजिल्याण्डले जिते सेमिफाइनल पुग्ने छ । अर्थात् सेमिफाइनल पुग्न भारतले न्युजिल्यान्डको हार पर्खनु पर्ने छ ।
पाकिस्तानले न्युजिल्यान्डलाई हराएमा राम्रो नेट रन रेटका आधारमा भारतको सेमिफाइनल पुग्ने सम्भावना बढ्नेछ ।
प्रकाशित : २०८१ असोज २८ गते ९:२८
Facebook Comment