बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २४४ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०८१ असोज २० गते ८:५२
बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २४४ पुग्यो

कावासोती । हालैको बाढीपहिरामा परी हालसम्म २४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य १७९ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी छ ।

‘बाढीपहिरो पीडितको विवरण सङ्कलन स्थानीयस्तरबाट भइरहेको छ । त्यो प्राप्त भएपछि अस्थायी आवासका निम्ति सरकारले प्रदान गर्ने सहायता रकम वितरण हुनेछ । स्थानीय तहबाट प्रभावित परिवारलाई खाद्यान्नलगायत सहयोग प्रदान भएको छ,’ प्रवक्ता तिवारीले भने ।

सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकका परिवारलाई दुई लाख रुपैयाँका दरले निजका परिवारलाई सहायता रकम उपलब्ध गराएको छ । हालसम्म त्यस्तो सहायता १६० परिवारले पाइसकेका छन् ।

बाढीपहिरोमा परी सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ७७ जनाको मृत्यु भएको छ भने त्यहाँ हालसम्म ५९ मृतकका आफन्तलाई आर्थिक सहयोग प्रदान गरिएको प्रवक्ता तिवारीले बताए ।

प्रकाशित : २०८१ असोज २० गते ८:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI