झ्याप्लेखोला पहिरोमा चितवनबाट आउँदै गरेको माइक्रोबस पनि भेटियो, ७ जनाको शव फेला

NAWALPUR TIMES
प्रकाशित : २०८१ असोज १३ गते ११:४६
झ्याप्लेखोला पहिरोमा चितवनबाट आउँदै गरेको माइक्रोबस पनि भेटियो, ७ जनाको शव फेला

कावासोती । पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेखोलामा चितवनबाट काठमाडौंका लागि आएको माइक्रोबस पनि पुरिएको अवस्थामा भेटिएको छ । उक्त माइक्रोबसबाट ७ जनाको शव निकालिएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ ।

सशस्त्र प्रहरी बल, नेपालका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रोबस पहिरोमा पुरिएको हो । डीएसपी थापाका अनुसार उक्त माइक्रोबसबाट २ महिला र ५ पुरुषको शव निकालिएको छ ।

पहिरोमा अन्य गाडीहरू पनि पुरिएको आशंकामा खोजी कार्य जारी रहेको उनले बताए । त्यही पहिरोमा गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस पनि पहिरोमा पुरिएको अवस्थामा फेला परेको छ । उक्त बसबाट ३ जना पुरुषको शव निकालिएको छ ।

त्यसैगरी बुटवलबाट काठमाडौं आइरहेको माइक्रोबस पहिरोमा पुरिँदा १४ जनाको मृत्यु भएको छ । माइक्रोबसबाट आठ पुरुष, पाँच महिला र एक बच्चाको शव निकालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०८१ असोज १३ गते ११:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI