आमाहरु विदेसिँदा उजाडियो गाउँ

NAWALPUR TIMES
प्रकाशित : २०८१ असोज ७ गते ७:३९
आमाहरु विदेसिँदा उजाडियो गाउँ

नवलपुर । कावासोती नगरपालिका वडा नं. ११ का एक दम्पत्ति दुई वर्षदेखि वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा हुनुहुन्छ । श्रीमान साउदी अरव र श्रीमती कुवेतमा । उहाँहरुका दुई छोराछोरी नेपाल राष्ट्रिय आधारभूत विद्यालय कावासोतीमा अध्ययनरत छन् ।

आजको गोरखापत्र दैनिकमा समाचार छ, श्रीमान श्रीमती नै विदेश गएपछि उनीहरुले छोराछोरी र घर हेर्नका लागि विवाह गरेर चितवन गएकी बहिनीलाई आफ्नै घरमा ल्याएर राखेका छन्रा । बहिनी सुनिता (नाम परिवर्तन) को उमेर भर्खर २३ वर्ष भएको छ । उनको एउटा तीन वर्षे छोरा छन् । श्रीमान रोजगारीका लागि भारतमा ।

दुई छोराहरुलाई छोडेर जेठाजुका श्रीमान श्रीमतीले नै अर्कै घरबार गरेपछि ती छोराहरूसहित पाँच जना बालबालिकाको लालनपालर र शिक्षा दीक्षाको जिम्मा पनि अहिले सुनिताकै काँधमा छ ।

सानै उमेरमा यति ठूलो जिम्मेवारी सुनितालाई निल्नु न ओकल्नु भएको छ । ‘आफ्ना छोराछोरीलाई भए पो जे गरेपनि, जसो गरे पनि हुन्छ, अर्काका छोराछोरी, अलि ठूलो स्वरले कराउँदा पनि नराम्रो मान्लान्की भन्ने डर, नकराउने हो भने भनेकै मान्दैनन्, पढाई पनि पहिले जस्तो छैन, सुनिताले सुनाइन् ।

त्यही टोलकै अर्की महिला रजनी (नाम परिवर्तन) डेढ वर्षदेखि कुवेतमा रहेको उनका छोराले जानकारी दिए । तर बिहानैदेखि हल्का नसाको तालमा रहेका श्रीमानलाई श्रीमती कुन देश गएको भन्ने पनि एकीन छैन । निमावि तहमा अध्ययनरत दाजुभाई आफै खाना पकाएर खाएर विद्यालय जान्छन् । समयमा विद्यालय नपुग्ने उनीहरुले खाना पकाउन समय लागेकाले आउन ढिला भएको बताउने गरेका विद्यालयका प्रधानाध्यापक ठाकुरप्रसाद पंगेनीले बताए ।

‘आमा विदेश गएको एक महिनामै परिवर्तन देखियो, पहिले राम्रो भएका बच्चाहरुको पढाई एक महिनामै खस्कियो, होमवर्क गर्दैनन्, सरसफाइमा ध्यान छैन, प्रधानाध्यापक पंगेनीले भने । ‘आमा नहुँदा अनुहार नै मलिन र टिठलाग्दो हुनेरहेछ ।’ सहायक प्रधानाध्यापक सञ्जय भट्टराईका अनुसार यही टोलबाट यही समुदायका २९ जना बालबालिका यो विद्यालयमा अध्ययनरत छन् ।

ऋण खोजेर मलेसिया गएका अर्का स्थानीय युवा त्यहाँ काम गर्न नसकेपछि ६ महिनामा घर फर्क । र फेरी ऋणमै श्रीमतीलाई विदेश पठाए । अहिले घरमा बहिनीको रेखदेखमा दुई छोराछोरीलाई राखेर उनी काम खोज्न पूर्वी नेपालको काँकडभिट्टा पुगेका छन् । बहिनीलाई भाउजु कुन देश गएको पनि पत्तो छैन । छिमेकी सरस्वती कँडेलका अनुसार उनी कुवेत गएकी हुन् । ‘आमा हुँदासम्म सबै राम्रै थियो, छोराछोरी पनि इमान्दार नै थिए, अहिले त एकछिन घरमा पनि बस्दैनन्, कता गएर ? के गर्छन् ? कसैलाई मतलव हुदैन, कँडेलले सुनाइन् ।

त्यसको दुई घर पल्तिर अर्काे एक दम्पत्तिको घर छ । जहाँ प्रायजसो मदिराको तालमा हुने युवा मदिरा सेवन गर्न अलि कम गरेर शनिवारको दिन माछा मार्न नारायणी पुगेका थिए ।

९ वर्षका छोरा, ७ वर्षकी छोरी र ५ वर्षीया कान्छी छोरी नाङ्गै केरा घारीमा खेल्दै थिए । उनीहरु तीनै जना पढ्न करिव ३ किलोमिटर हिडेर विद्यालय जान्छन् । कक्षा १ मा पढ्ने कान्छी छोरी भन्छिन्, ‘बाबाले धेरै रक्सी खानुहुन्थ्यो, अहिले रोग लाग्यो भनेर अलि कम गर्नु भएको छ, मम्मी विदेश जानु भएको छ । साह्रै याद आएको छ । छिट्टै आए हुन्थ्यो नि !’

यो यहाँको घर घरको व्यथा हो । वडा सदस्य हस्त बहादुर पुरी गोसाँईँका अनुसार यहाँ एउटै समुदायका ३० घर परिवारको बसाई छ । यहाँका ५० जनाभन्दा बढी विवाहित महिला वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा छन् ।

‘हुन त विदेश नगएको कहाँ पो छ र ! तर श्रीमान विदेश जानु र श्रीमती जानुमा धेरै अन्तर हुँदो रहेछ, गोसाँईंले भने, ‘श्रीमानले कमाएको पैसा श्रीमतीले जोगाड गरि राख्छन्, श्रीमतीले कमाएको पैसा श्रीमानले जाँडरक्सीमा सक्ने रहेछन्, श्रीमती विदेश पठाएका श्रीमानहरु दिनभरी जाँड रक्सीमा लठ्ठिएर हिड्छन्, लुँडो, तास र क्यारमबोर्ड खेलेर दिन बिताउँछन् । अर्को तिर घरमा आमा नहुँदा छोराछोरीको विचल्ली हुँदो रहेछ ।’

उनका अनुसार विदेश गएर कमाएको पैसा स्थानीय एक महिलाले मात्र व्यवस्थित गर्न सकेकी छिन् । उनले त्यही ठाउँमा पक्की घर बनाएकी छिन् । उनी पहिले आफू विदेश गइन् । आफू स्वदेश फर्केर श्रीमानलाई विदेश पठाइन् । त्यो कमाइले पक्की घर बनाएर अहिले किराना पसल गर्ने तयारी छ ।

श्रीमतीले जस्तो घरको रेखदेख र छोराछोरीको हेरचाह श्रीमानबाट नहुने बताउँछन् नेपाल राष्ट्रिय आधारभूत विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष मनबहादुर सिंजाली मगर । ‘हरेक घरका महिला विदेश गएका छन्, सबैको घरको अवस्था नाजुक छ, छोराछोरी कसैको पनि न सरसफाई छ, न पढाई राम्रो छ, यसले समाजको चित्र नै बदलिदिएको छ, अध्यक्ष सिन्जालीले उराठ लाग्दो कहानी सुनाए ।

प्रकाशित : २०८१ असोज ७ गते ७:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI