पृथ्वीले दोस्रो चन्द्रमा पाउँदै, कति दिन रहन्छ कक्षमा ?

NAWALPUR TIMES
प्रकाशित : २०८१ असोज ६ गते १५:१२
पृथ्वीले दोस्रो चन्द्रमा पाउँदै, कति दिन रहन्छ कक्षमा ?

पृथ्वीले दोस्रो प्राकृतिक भूउपग्रहका रूपमा यो हप्ता एक स्याटेलाइटलाई आफ्नो कक्षमा पाउने भएको छ । २०२४पीटी५ नाम दिइएको यो एस्ट्रोइड वा क्षुद्र्रग्रह करिब दुई महिना पृथ्वीको सानो चन्द्रमाका रूपमा पृथ्वीको कक्षमा रहने भएको हो ।

करिब १० मिटर चौडाइको यो क्षुद्रग्रह सेप्टेम्बर २९ मा पृथ्वीको उपग्रह बन्ने देखिएको छ । यो क्षुद्रग्रह २०२४पीटी५ ले ५६.६ दिनमा एकपटक पृथ्वीको परिक्रमा गर्नेछ ।

त्यसपछि नोभेम्बर २५ मा पृथ्वीको गुरुत्वाकर्षण क्षेत्रबाट बाहिरिनेछ । २०२४पीटी५ले ४५ लाख किलोमिटर टाढाबाट पृथ्वीको परिक्रमा गर्नेछ । त्यो पृथ्वी र चन्द्रमामाको तुलनामा १० गुणाभन्दा बढी टाढा हो । यसको गति तीन हजार ५४० किलोमिटर प्रतिघण्टा रहनेछ ।

गएको महिना मात्र पत्ता लागेको २०२४पीटी५ ‘अर्जुन एस्ट्रोइड बेल्ट’को क्षुद्रग्रह हो । पृथ्वीको कक्षमा एक फन्को लगाएपछि यो अर्जुन क्षुद्रग्रह बेल्टमै जाने बताइएको छ ।

कैयौँ सानाठूला अन्तरिक्ष चट्टान वा एस्ट्रोइड मिलेर बनेको अर्जुन क्षुद्रग्रह बेल्टले करिब १५ करोड किलोमिटर टाढाबाट सूर्यको परिक्रमा गर्छ । त्यो लगभग सूर्यबाट पृथ्वीको दूरीसमान हो ।

सन् २०२५ जनवरी ९ मा २०२४पीटी५ पृथ्वीबाट फेरि १८ लाख किलोमिटर टाढा देखिने र त्यसपछि आफ्नै बेल्टमा फर्कने बताइएको छ । सन् २०५५ नोभेम्बरमा फेरि फिर्ता आउने तर झनै टाढा करिब ५८ लाख किलोमिटर पर रहने अनुमान गरिएको छ ।

गएको अगस्त ७ मा एस्ट्रोइड टेरेस्ट्रियल–इम्प्याक्ट लास्ट अर्लट सिस्टमबाट २०२४पीटी५ पत्ता लागेको थियो । त्यसको अघिल्लो दिन यो पृथ्वीबाट निकै नजिक पाँच लाख ६७ हजार किलोमिटर टाढाबाट गएको थियो ।

त्यसपछि स्पेनको कम्प्लुटेन्स युनिभर्सिटी अफ मड्रिडका खगोलविद्ले २१ दिन लगाएर २०२४पीटी५ को डाटा विश्लेषण गरी पृथ्वीको परिक्रमा गर्ने कुरा पत्ता लगाएका हुन् ।

यसअघि, २०२४पीटी५ सन् २००३ फेब्रुअरी, १९८२ अप्रिल र १९६० मार्चमा पृथ्वीनजिक आएको ठानिएको छ । यसपछि सन् २०५५ नोभेम्बर र २०८४ जनवरीमा पनि पृथ्वीनजिक आउने अनुमान गरिएको छ ।

सूर्यको परिक्रमा गरिरहेका बेला गुरुत्वाकर्षण बलको असन्तुलनका कारण क्षुद्रग्रह पृथ्वीको गुरुत्वाकर्षण क्षेत्रभित्र आउने स्थिति बन्छ । यस्ता घटना पृथ्वीमा निकै दुर्लभ र दशकौँमा हुने गरेको बताइएको छ ।

२०२४पीटी५ निकै सानो र मधुरो भएका कारण धेरैजसो टेलिस्कोप र दूरबिनबाट देखिने छैन । प्रोफेसनल खगोलविद्सँगको टेलिस्कोपबाट भने यो सहजै देखिने बताइएको छ । व्यास ३० इन्चप्लस सीसीडी अथवा सीएमओएस डिटेक्टर टेलिस्कोपबाट यसलाई देख्न सकिनेछ ।

प्रकाशित : २०८१ असोज ६ गते १५:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI