अस्पताल भवन ठडियो, छैन उपकरण र दरबन्दी

NAWALPUR TIMES
प्रकाशित : २०८१ असोज ५ गते ९:१६
अस्पताल भवन ठडियो, छैन उपकरण र दरबन्दी

नवलपुर । नवलपुरको बौदीकाली गाउँपालिकाले १८ करोडको लागतमा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न गरेको छ । केन्द्र सरकारको बजेटबाट भवन निर्माण गरिएको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मेघबहादुर ठाडामगरले हाल यहाँ रकुवा प्राथमिक स्वास्थ्य केन्द्रलाई विस्तार गरेर बौदीकाली आधारभूत अस्पतालका रूपमा विस्तार गर्न लागिएको बताउनुभयो ।   छैन उपकरण र दरबन्दी  भवन निर्माणको काम सकिए पनि अस्पतालका लागि चाहिने कुनै पनि उपकरण र जनशक्ति नभएको उहाँले बताउनुभयो । मगरले भन्नुभयो, “अस्पताल कसरी सञ्चालन गर्ने भन्ने स्पष्ट नीति तथा केन्द्र सरकार र प्रदेश सरकारको जिम्मेवारीमा दरबन्दी कायम गरेर वा प्रदेश र केन्द्र सरकारले कति दरबन्दी जिम्मा लिने र तलब खुवाउने भन्ने निर्णय नगरेका कारण अस्पताल सञ्चालनमा कठिनाइ भएको छ ।” मगरका अनुसार अहिले अस्पताललाई चाहिने एउटा कुर्सी र टेबुलसमेत छैन । अहिलेकै अवस्थामा १५ शय्याको अस्पताल सञ्चालन गर्न सम्भव नभएको उहाँको भनाइ छ । रकुवा प्राथमिक स्वास्थ्य केन्द्रमा नै अहिले दैनिक ३० देखि ४० जना बिरामी आउने गरेकाले अस्पताल सञ्चालनमा आएर सेवा दिन सकेमा यहाँ थेग्न नसक्ने गरी बिरामीको भिड लाग्ने गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहले आफ्नै बजेटले अस्पताल सञ्चालन गर्न सक्दैन । सरकारले कर्मचारी र स्वास्थ्य उपकरण कहिले पठाउँछ, त्यसैका आधारमा अस्पताल सञ्चालन हुन्छ ।” अस्पतालका लागि २८ जनाभन्दा बढीको दरबन्दी हुनुपर्नेमा अहिले एक जनाको पनि दरबन्दी छुट्याइएको छैन ।  उहाँले एक महिनाभित्रै प्रधानमन्त्रीलाई ल्याएर अस्पताल उद्घाटन गर्ने तयारी रहेको बताउनुभयो । पालिकाले स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग (डोलिडार) को ६० र पालिकाको ४० प्रतिशत लगानीमा छ करोड लागतमा पालिका भवन पनि बनाएको छ ।  नजिकै भाडामा रहेको घरबाट सेवा प्रवाहमा समस्या भएको भन्दै पालिकाले आफ्नै भवन बनाएर सर्ने तयारी गरेको हो । प्रधानमन्त्रीलाई ल्याएको बेलामा एकै पटक अस्पताल भवन, पालिका भवन र वडा कार्यालय उद्घाटन गर्ने तयारी गरिएको अध्यक्ष ओझाले बताउनुभयो ।

प्रकाशित : २०८१ असोज ५ गते ९:१६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI