चिनियाँ ठेकेदार कम्पनीको लापरबाहीले नवलपुरमा डेंगु बढ्यो

NAWALPUR TIMES
प्रकाशित : २०८१ असोज २ गते १२:२०
चिनियाँ ठेकेदार कम्पनीको लापरबाहीले नवलपुरमा डेंगु बढ्यो

कावासोती । नारायाणघाट–बुटवल सडक विस्तार गरिरहेको चिनियाँ ठेकेदार कम्पनीको लापरबाहीले नवलपुरमा डेंगु ह्वात्तै बढेको छ । ठेकेदार कम्पनीले समयमै काम नसकी सडकमा खाल्डाखुल्डी पारेर छोड्दा जमेको पानीका कारण डेंगु बढेको हो ।

 गोरखापत्र अनलाईनमा समाचार छ, नारायणघाट–बुटवल सडकखण्डले छोएका पालिकाहरूमा सबैभन्दा बढी डेंगु देखिएको छ । गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकालाई यो सडकले छोएको छ । मङ्गलबारसम्मको तथ्याङ्क अनुसार जिल्लामा ९९ जनामा डेंगु सङ्क्रमण देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले दिएको तथ्याङ्कअनुसार ४२ जना महिला र ५७ जना पुरुषमा डेंगु सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये सबैभन्दा धेरै देवचुली नगरपालिकामा २४ जना रहेका छन् । त्यस्तै, जिल्ला सदरमुकामसमेत रहेको कावासोती नगरपालिकामा १९ जना, गैँडाकोटमा १८, हुप्सेकोट गाउँपालिकामा १३, मध्यविन्दु नगरपालिकामा १२, विनयी त्रिवेणीमा ११ र बुलिङटार गाउँपालिकामा दुई जनामा सङ्क्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले जानकारी दिनुभयो । बौदिकाली गाउँपालिकामा भने अहिलेसम्म डेंगु सङ्क्रमित फेला परेका छैनन् ।

सडकले छोएका पालिकामा बढी डेंगु देखिनुले सडक विस्तारको क्रममा ठेकेदार कम्पनीले समयमै काम नसक्नु र सडक खाल्डाखुल्डी पारेर छोडेकाले तीनै खाल्डाखुल्डीमा जमेको पानीका कारण डेंगु बढी देखिएको गैँडाकोट नगरपालिकाका जनस्वास्थ्य निरीक्षक माधव आचार्यले बताउनुभयो ।

‘‘राजमार्गमा रहेका खाल्डाखुल्डीमा पानी जमेका कारण डेंगु बढी देखिएको छ, त्यसलाई नियन्त्रण गर्नका लागि विद्यालय र समुदाय स्तरमा सचेतना कार्यक्रम गरिरहेका छौँ,’’ आचार्यले भन्नुभयो ।

देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख, जनस्वास्थ्य अधिकृत रामकुमार श्रेष्ठले पनि राजमार्गमा पानी जमेका कारणले डेंगु बढेको बताउनुभयो । उहाँले डेंगु नियन्त्रणका लागि हरेक हप्ता पालिकाले एक सय १४ वटा टोलमै पुगेर लामखुट्टेको लार्भा नष्ट अभियान चलाउने बताउनुभयो ।

डेंगुको लक्षण देखिने बित्तिकै सबैले परीक्षण नगराउने र कतिपयले चितवन र केही निजी मेडिकलहरूमा परीक्षण गराउने गरेको र त्यो तथ्याङ्क स्वास्थ्य कार्यालयमा समावेश नहुने गरेको जिल्ला स्वास्थ्य कार्यालयको भनाइ छ । त्यो तथ्याङ्कसमेत जोड्दा सङ्क्रमितको सङ्ख्या अझै बढ्न सक्ने कार्यालयले जनाएको छ ।

जिल्लामा डेंंगु सङ्क्रमण बढ्दै गएपछि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी छविलाल सुवेदीले विभिन्न पालिकामा जनप्रतिनिधि, टोलसुधार समिति, शिक्षक, अभिभावक, विद्यार्थी, आमा समूह लगायतलाई राखेर अभिमुखीकरण कार्यक्रमहरू सुरु गरिएको र सङ्क्रमण बद्दै गएका ठाउँहरूमा लामखुट्टेको लार्भा नष्ट अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालयले लामखुट्टेको वासस्थान नष्ट गर्न, पानी जम्न नदिन, सरसफाइमा ध्यान दिन र नियमित स्वास्थ्य परीक्षण गर्न सबैसित अनुरोध गरेको छ ।

प्रकाशित : २०८१ असोज २ गते १२:२०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI