नवलपुरमा डेंगीको संक्रमण बढदो, सबै भन्दा धेरै संक्रमित देवचुलीमा

NAWALPUR TIMES
प्रकाशित : २०८१ असोज १ गते २०:२६
नवलपुरमा डेंगीको संक्रमण बढदो, सबै भन्दा धेरै संक्रमित देवचुलीमा

कावासोती । डेंगी संक्रमितको संख्या बढेसँगै सतर्कता अपनाउन स्वास्थ्य कार्याल्य नवलपुरले आग्रह गरेको छ । स्वास्थ्य कार्यालय नवलपुरका किटजन्य रोग फोकल पर्सन डिल्लीराम तिवारीका अनुसार नवलपुरमा असार दोस्रो साता देखि हाल सम्म ९९ जनामा डेंगीको संक्रमण पुष्टि भएको हो ।

तिवारीका अनुसार जिल्लाभित्रका स्वास्थ्य संस्थामा परीक्षण गराएकामध्ये ५७ जना पुरुष र ४२ जना महिला गरेर ९९ जनामा डेंगीको संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विनयी त्रिवेणी गाँउपालिकाका १ जना पुरुष रहेका छन । जिल्लाका ८ वटा स्थानिय तह मध्ये सबै भन्दा धेरै संक्रमित देवचुली नगरपालिकामा फेला परेका छन भने बौदीकालीमा अहिलेसम्म संक्रमित फेला परेका छैनन ।

तिवारीका अनुसार देवचुलीमा १२ जना महिला र १२ जना पुरुष गरेर २४जनामा डेंगीको संक्रमण पुष्टि भएको हो । कावासोतीमा ७ महिला र १२ पुरुष गरेर १९ जना, गैँडाकोटमा ९ महिला र ९ पुरुष गरी १८ जना, मध्यविन्दुमा ४ महिला र ८ पुरुष गरी १२ जना, बिनयीत्रिवेणीमा ३ महिला र ८ पुरुष गरी ११ जना, हप्सेकोटमा ७ महिला र ६ पुरुष गरी १३ जना र बुलिङ्गटारमा २ जना पुरुष गरी ९९ जनामा डेंगीको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

नवलपुरका सरकारी स्वास्थ्य संस्थामा परीक्षण गराएकाहरु तथ्यांक स्वास्थ्य कार्यालयसँग भए पनि जिल्ला बाहिर र निजी अस्पतालहरुमा परीक्षण गराउनेको तथ्यांक स्वास्थ्य कार्यालय सँग छैन । जिल्ला बाहिर तथा निजी स्वास्थ्य संस्थामा समेत परीक्षण गराउ जाने भएकाले जिल्लामा डेंगीका संक्रमितहरु अझै बढि हुन सक्ने स्वास्थ्य कार्यालयका अधिकारीहरु बताउछन ।

प्रकाशित : २०८१ असोज १ गते २०:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI