रवि लामिछानेसहित चार जनालाई कारबाही गर्न संसदीय समितिको सिफारिस

NAWALPUR TIMES
प्रकाशित : २०८१ भदौ ३१ गते १७:४५
रवि लामिछानेसहित चार जनालाई कारबाही गर्न संसदीय समितिको सिफारिस

सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित चार जनालाई कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ।

सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडिया नेटवर्क प्रालिको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्नता रहेको भन्दै लामिछानेसहित चार जनालाई कारबाही सिफारिस गरिएको हो।

विशेष समितिले सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगाएको ठहरसहित अध्यक्ष जीबी भनिने गीतेन्द्रबाबु राई, गोर्खा मिडिया नेटवर्कका प्रबन्धनिर्देशक लामिछाने तथा सञ्चालकद्वय कुमार रम्तेल र छबिलाल जोशीलाई कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ।

राई, रम्तेल लामिछाने र सञ्चालक जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गरेको विशेष समितिले जनाएको छ।

सेयर नै कीर्ते!
गोर्खा मिडिया नेटवर्कमा सेयर हस्तान्तरण कीर्ते कागजातका आधारमा भएको समितिले जनाएको छ। राईले ४० वटा कम्पनी खडा गरेको पाइएको समितिको भनाइ छ ।

राईसहित फरारलाई नेपाल झिकाउनू 
सहकारी बचत रकम अपचलनमा संलग्न रहेका राईसहित थानबहादुर बुढा मगर–सूर्यदर्शन पोखरा, दिनेश रोक्का– सहारा चितवन, सागर केसी– सुप्रिम, बुटवल, तस्वीरण खातुन सानो पाइला, वीरगन्ज र भूपेन्द्र राई (स्वर्णलक्ष्मी, काठमाडौंलाई शीघ्र खोजी गरी कानुनी दायरामा ल्याउन नेपाल सरकारलाई निर्देशन दिएको छ।

प्रकाशित : २०८१ भदौ ३१ गते १७:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI