नवलपुरमा आत्महत्याको दर घट्यो, संख्या भने डरलाग्दो

NAWALPUR TIMES
प्रकाशित : २०८१ भदौ २५ गते १६:१३

कावासोती । नवलपुरमा आत्महत्याको दर घट्दै गएको देखिएको छ । पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा जिल्लामा पहिलेको तुलनामा आत्महत्या गर्नेको दर घट्दै गए पनि संख्या भने डरलाग्दो  छ ।

पछिल्लो तीन वर्षमा जिल्लामा तीन सय १८ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ ।

आर्थिक वर्ष २०७८‍/०७९ मा एक सय १६ जनाले आत्महत्या गरेको मा २०७९/८० मा त्यो सङ्ख्या केही घटेर एक सय दुई जनामा सीमित रहेको छ । त्यस्तै २०८०/८१ मा ८९ जनाले आत्महत्या गरेका छन् । चालु आर्थिक वर्षको दुई महिनामा ११ जनाले आत्म हत्या गरेका प्रहरीको भनाइ छ । जसमध्ये ६ पुरुष, तीन महिला र दुई बालबालिका रहेका छन् ।


मृतक तीन सय १८ जनामध्ये एक सय ६६ जना पुरुष, एक सय आठ महिला, ४४ जना बालबालिका रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलले जानकारी दिए । जिल्लामा चलाइएको सचेतनामूलक कार्यक्रम र व्यवशायीक मनोपरामर्शदाताका कारण आत्महत्याको दर केही घटे पनि अझै पनि यो तथ्याङ्क डरलाग्दो रहेको उनको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार आत्महत्याको प्रमुख कारणमा मिटर ब्याज, ड्रग र गोप्य भिडियोहरू सार्वजनिक गरिदिनु रहेका छन् ।

मिटर ब्याजले मानसिक तनाव सृजना गर्ने, ड्रग्सले पारिवारिक र सामाजिक कलह निम्त्याउने र युवायुवतीमा गोप्य रूपमा खिचिएका भिडियोहरू पछि सार्वजनिक गर्नु जस्ता कारणले आत्महत्या गर्ने गरेको पाइएको प्रहरी उपरीक्षक रेग्मीको भनाइ छ ।

मध्य विन्दु बहुमुखी क्याम्पसका समाजशास्त्र तथा मनोविज्ञानका प्राध्यापक करुण लम्सालले देखासिकी, सामाजिक सञ्जाल, आर्थिक सम्बन्ध र वैदेशिक रोजगारी आत्महत्या बढ्दै जानुका मुख्य कारण भएको बताए ।

‘‘बालबालिकाहरूले मुख्यतः सामाजिक सञ्जाल र देखासिकीका कारण आत्महत्या गर्ने गरेको देखिन्छ, लम्सालले भने, वैदेशिक रोजगारी र आर्थिक कारणले महिला र युवतीहरूमा त्यसको असर परेको छ ।’’ यो समस्या समाधान गर्नका लागि स्वदेशमै रोजगारीको, आर्थिक अवस्थामा सुधार र विद्यालय तहबाटै बालबालिकाहरूलाई जनचेतना शिक्षा प्रदान गर्नु पर्ने उनको सुझाव छ ।

संयुक्त राष्ट्र सङ्घको तथ्याङ्क अनुसार नेपाल आत्महत्या गर्ने मुलुकको आठौँ नम्बरमा छ । यहाँ एक वर्षमा ५ हजार ५ सय ७२ जनाले आत्महत्या गर्ने गरेका छन् ।

प्रकाशित : २०८१ भदौ २५ गते १६:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI