गिद्द संरक्षणमा अब्बल बन्दै नवलपुर

NAWALPUR TIMES
प्रकाशित : २०८१ भदौ २२ गते १६:१३
गिद्द संरक्षणमा अब्बल बन्दै नवलपुर

सन्जय भट्टराई, कावासोती । लोपोन्मुख अवस्थामा रहेको गिद्द संरक्षणमा नवलपुर अब्बल बन्दै गएको छ ।

नवलपुरका विभिन्न ५ वटा सामुदायिक तथा मध्यवर्ती वन र एउटा आबादी क्षेत्र गरेर एक वर्षको अवधिमा १ सय २६ वटा गिद्दको गुँड फेला परेको र यी गुँडहरुबाट ९४ वटा गिद्दका बच्चा हुर्किएका जटायु रेष्टुरेन्टका अध्यक्ष डिबि चौधरीले बताए । जटायु रेष्टुरेन्टले गरेको अध्ययन अनुसार जिल्लाको अंकुर सामुदायिक वनमा २ वटा, गुन्द्रही ढकाहा मध्यवर्ती वनमा ५२ वटा, ज्योति कुञ्ज सामुदायिक वनमा १९ वटा, कृष्णसार मध्यवर्ती वनमा १० वटा, नमूना मध्यवर्ती वनमा २६ वटा र रकुवाको आबादी क्षेत्रमा ४ वटा गिद्दको गुँड फेला परेका हुन ।

जस मध्य जिल्लाको नमुना सदरमुकाम बनाउने स्थान रहेको ज्योती कुञ्ज सामुदायिक वनमा १९ वटा गुँडबाट १९ वटा नै गिद्दका बच्चा हुर्किएर बाहिरी वातावरण आएका छ्न भने गुन्द्रही ढकाहा बाट ३७, अंकुरबाट २ कृष्ण सारबाट १० नमूना बाट २६ र रकुवाको आबाद क्षेत्रका गुँडबाट २ वटा गिद्दका बच्चा हुर्किएर बाहिरी वातावरणमा आएका हुन ।

यहाँको जिल्ला सदरमुकाम बन्ने स्थलमा १९ को संख्यामा रहेका गिद्दका गुँड बिस्थापित नहुने गरि सदरमुकाम निर्माणको कामलाई अगाडी बढाईने गरेर तयारी गरिएको जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्माले बताए । केही दिन अघि योजना आयोगको स्थलगत अनुगमनका क्रममा समेत गिद्दका गुँड र बासस्थान जोगाउने गरि निर्माणको काम गर्ने र नमूना सदरमुकामलाई गिद्द संरक्षण सँगै जोडेर अगाडि बढाउने तयारी गरिएको उनको भनाई थियो ।

विषाक्त खानाका कारण एक वर्षमा २३ वटा गिद्द मरे पछि चिन्तित गिद्द संरक्षणकर्मी हरुलाई पछिल्लो नयाँ तथ्यांकले खुसी बनाएको अध्यक्ष चौधरीले बताए । त्यो बाहेक ७२ वटा गिद्दबाट सन २००६ मा कावासोती-१३ मा गिद्द संरक्षणका लागि समुदाय स्तरमा स्थापना गरिएको जटायु रेष्टुरेन्टमा विभिन्न प्रजातीका ५१७ वटा लोपोन्मुख गिद्द रहेका छ्न ।

गिद्द संरक्षणमा नवलपुर र अझ विषेश गरि जटायु रेष्टुरेन्ट र त्यहाँका स्थानीयले सिङ्गो देशलाईनै उदाहरण प्रस्तुत गरेको चरा विज्ञ डा. हेमसागर बरालले बताए । “नवलपुर र जटायु रेष्टुरेन्ट र त्यहाँको समुदायले गिद्द संरक्षणमा देखाएको सक्रियताले देशका अन्य स्थानमा समेत सकारात्मक सन्देश दिएको छ, नवलपुरबाट देशका अन्य जिल्ला ले सिक्नु पर्ने कुरा धेरै छ्न”, बरालले भने, “एक वर्षको अवधिमा १२६ वटा गुँडबाट ९४ गिद्द हुर्किएर बाहिरी वातावरणमा आउनुलाई निक्कै राम्रो मानिन्छ ।”

गिद्द संरक्षणमा सफलता सँगै केही चुनौती रहेको भन्दै जटायु रेष्टुरेन्टका अध्यक्ष चौधरीले समुदाय र सरोकारवालाको सहयोगमा बिस्तारै चुनौती हटाउदै जान लागिएको बताए । “हिजो ७२ वटा गिद्द बाट जटायु रेष्टुरेन्टको सुरु गरेका हौ, चुनौती आउछ्न सँगै सफलता पनि पाएका छौँ ।”, चौधरीले भने । विषाक्त आहारा, बासस्थानको समस्या र विद्युत लाईनका कारणले केही चुनौती थपेको भए पनि गिद्द संरक्षणमा नवलपुर र जटायु रेष्टुरेन्ट उदाहरणिय अब्बल बन्दै गएको उनको भनाई थियो ।

लोपोन्मुख गिद्ध संरक्षण गर्न १८ वर्ष अगाडि नवलपुरको कावासोती-१३ मा स्थापना गरिएको जटायु रेष्टुरेन्टले समुदाय स्तरमा गएर चलाएको अभियानका कारण पछिल्लो समय गिद्द संरक्षणमा सफलता प्राप्त हुँदै गएको हो ।

जिल्लाको कावासोती-१३ मा रहेको नमूना सामुदायिक मध्यवर्ती वनको करिब ५० हेक्टर क्षेत्रफलमा फैलिएको जटायु रेष्टुरेन्टमा नेपालमा पाइने नौ प्रजातिका  गिद्धमध्ये आठ प्रजातिका गिद्ध पाइने अध्यक्ष चौधरीले बताए । उनका अनुसार यहाँ रैथाने प्रजातिका डङ्गर, सेतो, सुन र सानो खैरो गिद्ध तथा आगन्तुक प्रजातिका राजगिद्ध, हिमाली गिद्ध, खैरो गिद्ध र लामो ठोडेगिद्ध रहेका छन् । आगन्तुक प्रजातिका गिद्ध भने हिउँदको समयमा आउने गरेक अध्यक्ष चौधरीले जानकारी दिए ।

प्रकाशित : २०८१ भदौ २२ गते १६:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI