गजल
१.
आगो बोकेर हिंडेको छु पैतालामा
गहिरा समुन्द्र भए पनि आँखामा ।
राजधानीमा चिच्याउन सजिलो छ
राष्ट्रियता बिझाउँछ सिमानामा ।
यसरी हामी एक अर्काका भएनौं
कहाँ तिमी बगैंचामा कहाँ म पहरामा ।
बोलेर संसार जित्छु भन्नेहरू सुन
बुद्धले संसार जितेकाथे मौनतामा ।
लुटेरालाई चाबी सुम्पिएसी के हुन्छ !
नेता दरबारमा जनता भड्खालामा ।
२.
भीरको फर्सी भएको छ जिन्दगी पनि
जब घाती निस्कियो आफ्नै साथी पनि ।
हरेक कुराको आआफ्नो सीमा हुन्छ यार
धेरै खाए विष बन्छ औषधि पनि ।
तिमी कस्तो पुर्णताको खोजी गर्दैछौ !
बेदाग छैन पुर्णिमाको चाँदनी पनि ।
प्यासले नै हो सबैलाई दौडाइ रहने
सागर भेट्न दौडिरहन्छ नदि पनि ।
३.
तिमी हिड्ने बाटोमा माटोको घर पर्दैन
त्यसैले यो नाचिजमा तिम्रो नजर पर्दैन ।
विश्वासको नतिजा मुटुमा खत मिलेपछि
ऊ अचेल आफ्नै भन्नेहरूको भर पर्दैन ।
कठोर चिजको श्रेणी निर्धारण गर्यो भने
आजकाल पहिलो श्रेणीमा पत्थर पर्दैन ।
ज्यानमारा हेराईमा मदहोस् भएको छु
लुट जवानी सधैं यस्तो अवसर पर्दैन ।
प्रकाशित : २०८१ भदौ १७ गते १७:१०
Facebook Comment