नवलपुरमा विपद्का कारण ४ महिनामा ९ जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८१ भदौ ७ गते ८:३१
नवलपुरमा विपद्का कारण ४ महिनामा ९ जनाको मृत्यु

कावासोती । नवलपुरमा पछिल्लो चार महिनामा विपद्का कारण ९ जनाको मृत्यु भएको छ भने १० वटा घर पूर्ण रूपमा नष्ट भएका छन् । वैशाखदेखि भदौ ४ सम्ममा आगलागीका कारण ३ जना, बाढीपहिरोमा परेर ४ जना, चट्याङ लागेर १ जना र हावाहुरीका कारण १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डीएसपी वेदबहादुर पौडेलका अनुसार विभिन्न प्राकृतिक विपद्‌मा परेर ९ जनाले ज्यान गुमाएको र जिल्लाको पूर्वपश्चिम राजमार्ग र सहायक मार्गमा १८ पटक सडक अवरुद्ध भएको थियो ।

नवलपुर प्राकृतिक विपद्को दृष्टिले उच्च जोखिममा पर्छ । यहाँका आठ वटा पालिकाका ३४ वटा वडा मनसुनको समयमा बाढीपहिरोका कारणले हुने जनधनको क्षतिको उच्च जोखिममा पर्छन् ।

मध्यविन्दु नगरपालिका, हुप्सेकोट गाउँपालिका र विनयी त्रिवेणी गाउँपालिकाका चार/चार वडा विपद्को उच्च जोखिममा छन् । देवचुली नगरपालिकाका नौ वटा वडा, कावासोती नगरपालिकाका सात वटा वडा, गैंडाकोट नगरपालिकाको २ नम्बर वडा, बुलिङटार गाउँपालिकाको वडा नम्बर २, बौदीकाली गाउँपालिकाका चारवटा वडा बाढीको उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पहिरोको जोखिमका हुप्सकोट गाउँपालिकाका १ र २, मध्यविन्दु नगरपालिकाका १३ र १४, विनयी त्रिवेणीका १ र ६ तथा बुलिङटारका ३ गरी ७ वटा वडा उच्च जोखिममा छन् । विपद्का बेला उद्धार र पूर्वतयारीका लागि विभिन्न स्थानीय निकायसँग समन्वय गरेर २ सय ५० जना तालिमप्राप्त जनशक्ति तयारी अवस्थामा राखिएको छ ।

प्रकाशित : २०८१ भदौ ७ गते ८:३१
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI