नवलपुरको गर्मीमा स्याउको व्यवसायिक खेती

NAWALPUR TIMES
प्रकाशित : २०८१ भदौ २ गते १५:४६
नवलपुरको गर्मीमा स्याउको व्यवसायिक खेती

सन्जय भट्टराई, कावासोती । सामन्यतया स्याउ चिसो मौसम अर्थात हिमाली भेगमा मात्र फल्ने फलफूल हो भन्ने आम बुझाई रहेको छ तर नवलपुरको प्रचण्ड गर्मीमा स्याउ फल्यो भनेको सुन्दा अचम्म लाग्नसक्छ । हो नवलपुरको मध्यविन्दु नगरपालिका–३ मा रहेको एग्रिकल्चरल एण्ड फरेस्ट कञ्जरभेसन रिसर्च सेन्टर प्रालिको बगैँचामा लटरम्म स्याउ फलेका छन् । चिसो हावापानी भएको ठाउँमा मात्रै स्याउखेती हुँदै आए पनि तराईको गर्मीमा स्याउ फलाएर एग्रिकल्चर एण्ड फरेस्ट कन्जरभेसन रिसर्च सेन्टर प्रालिले सबैको ध्यान खिचेको छ ।

पाँच बिगाहा क्षेत्रफलमा ४२ डिग्री सेल्सियस तापक्रम सम्म फल्न सक्ने करीब ४ हजार स्याउका बिरुवा रोपिकएको रिसर्च सेन्टरका व्यवस्थापक ईश्वर भट्टराईले बताए । उनका अनुसार रिर्सच सेन्टरमा ४२ डिग्री सेल्सियस तापक्रम सम्म फल्न सक्ने ‘अन्ना’, ‘डोरसेट’ र ‘एचआरएम–९९’ गरेर तीन प्रजातिको स्याउको बिरुवा रोपिएको छ । स्याउ रोपेको २ वर्षमा अधिकांश बोटमा फुल र फल लागेको उनले बताए । अहिले सम्म रिसर्च सेन्टर बाट आम्दानी भने लिन बाकी रहेको बताउँदै भट्टराईले अको वर्ष देखि यहाँ उत्पादन भएका स्याउ बजार सम्म पुग्ने बताए । तराईका क्षेत्रमा नौलो मानिएको स्याउखेतीका लागि ३५ देखि ४० लाख रुपिया लगानी भैसकेको उनले बताए ।


स्याउ बाहेक रिर्सच सेन्टरमा अम्बा, सुनकागती, शीतलचिनी, चेरी, भूइँकटहर, केरा, उन्नत जातको ममफलीलगायतका फलफूल लगाईएको छ । त्यो बाहेक रिसर्च सेन्टरले ‘टिस्यू कल्चर’ प्रविधिबाट उत्पादन गरेर केरा तथा बाँसको बिरुवा देशभरी बिक्री वितरण गर्दै आएको छ । स्याउ र अन्य फलफुल सँगै स्याउको बिरुवाको बिक्री वितरण गर्ने गरि बिरुवाको उत्पादन समेत सुरु गरिएको व्यवस्थापक भट्टराई बताउछन । उनका अनुसार अहिले मात्रै बजारबाट एक हजार बढी स्याउको बिरुवाको माग आएको हो ।

अहिले रिसर्च सेन्टरले यहाँ मात्रै ३५ देखि ४० जनालाई दैनिक रोजगार समेत दिदैँ आएको छ । तराईमा स्याउ उत्पादन गर्ने गरि अगाडी बढाईएको रिर्सच सेन्टर एग्रो टुरिजमको गन्तव्यको रुपमा समेत अगाडी बढदै गएको छ । दैनिक रुपमा बाहिरी जिल्लाबाट २५ देखि ३० जना कृषकहरु यहाँ अध्ययनका लागी आउने गरेका व्यवस्थापक भट्टराईले बताए ।

प्रकाशित : २०८१ भदौ २ गते १५:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI