पटक पटक म्याद थपिएको नारायणघाट बुटवल सडकको प्रगति कछुवा गतिमा

NAWALPUR TIMES
प्रकाशित : २०८१ साउन १५ गते २१:३८
पटक पटक म्याद थपिएको नारायणघाट बुटवल सडकको प्रगति कछुवा गतिमा

कावासोती । समयमा काम सम्पन्न गर्न नसकेपछि पटक पटक म्याद थपिएको नारायणघाट बुटवल सडकको प्रगति भने कछुवा गतिमा रहेको छ । ४२ महिनामा काम सम्पन्न गर्ने गरि २०७५ चैत ८ गते देखि काम सुरु भएको यो आयोजनाको अहिलेसम्मको भौतिक प्रगति ५२.५ प्रतिशत मात्रै पुगेको हो ।

गैँडाकोट देखि दाउन्नेलाई पुर्वी खण्ड र दाउन्ने देखि बुटवल पश्चिम खण्ड गरेर दुई खण्डमा सुरु गरिएको सडक बिस्तार आयोजनाको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको हो । ११३ किलोमिटर सडक मध्ये ७० किलोमिटर ४ लेन, २९ किमि ४ लेनसहित दुवैतर्फ ६/६ मिटरको सर्भिसलेन, दाउन्नेमा १४ किमि ३ लेन, ६४ वटा पूल, ४ सय ६२ वटा कल्भर्टलगायत संरचना निर्माण गर्ने गरि ठेक्का सम्झौता भएको यो आयोजनामा हालसम्म २६.५ किमि ४ लेन र २२ किमि २ लेन सडक कालोपत्र, ४२ वटा पुल, ३ सय ८० वटा कल्भर्ट निर्माण गरिएको छ ।

ठेक्का सम्झौता अनुसार ०७९ साउन २२ सम्म निर्माण कम्पनीले काम सम्पन्न गर्नु पर्ने थियो । समयभित्र काम नसकिएपछि दोस्रो पटक ०८१ साउन ८ सम्मका दोस्रो पटक र ०८२ साउन ८ सम्मका लागि तेस्रो पटक म्याद थपिएको थपिएको आयोजना निर्देशनालय (एडीबी) का आयोजना प्रमुख चूडाराज ढकालले बताए ।

कम्पनीले काममा प्रगति नबढाउँदा ०७९ असोज पहिलो साता आयोजनाले एक महिनाको सूचना निकालेर ठेक्का तोड्ने चेतावनी दिएको थियो । ठेकेदारले काम चाँडै सक्ने प्रतिबद्धता जनाएपछि आयोजना ठेक्का तोड्नबाट पछि हटेको थियो । अहिलेसम्म काम सकिएको छैन । पटक–पटक ताकेता गर्दा पनि निर्माण व्यवसायीले काम नसकेपछि ठेक्का लिने कम्पनीको केन्द्रीय कार्यालय चीनमा समेत के कति कारणले काममा ढिलो भएको र के कसरी समयमै सम्पन्न गर्ने योजना छ भनी जवाफदेही बन्न र प्रतिबद्धता पेस गर्न पत्राचार गरिएको आयोजना प्रमुख ढकालले जनाए ।

यो आयोजनाको लागत दुई खण्ड गरेर ठेक्का रकम १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ छ ।

प्रकाशित : २०८१ साउन १५ गते २१:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI