श्रमदान गरेरै वाल्मीकि आश्रम पुग्ने पहुँच मार्ग बनाउदैँ त्रिवेणीका स्थानिय

NAWALPUR TIMES
प्रकाशित : २०८१ साउन १५ गते १९:००
श्रमदान गरेरै वाल्मीकि आश्रम पुग्ने पहुँच मार्ग बनाउदैँ त्रिवेणीका स्थानिय

सन्जय भट्टराई, कावासोती । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं ६ मा रहेको झोलुंगे पुल देखि वाल्मीकि आश्रम सम्म पुग्ने पहुँच मार्ग  बनाउन आवश्यक मेसिनरी सामान लैजान भारतले बाटो प्रयोग गर्न नदिए पछि स्थानियले श्रमदान गरेर पहुँच मार्ग बनाउन सुरु गरेका छ्न ।

वाग्मती सरकारले गत आवमा पहुँच मार्गका लागि छुट्टाएको २० लाख बजेट बाट झोलुङ्गे पुलको पुर्वी मुख देखि वाल्मीकि आश्रम सम्म पहुँच मार्ग र पुलको पुर्वी मुखमा सेनाको चेक पोस्ट बनाउने गरि ओम निर्माण कम्पनीले वैशाख २५ सम्झौता गरेर वैशाख २६ गते निकुञ्जबाट कार्यादेश समेत लिएको थियो । पहुँच मार्ग र सेनाको चेकपोस्टको लागि जेसिबीको प्रयोग गर्नु पर्ने भएको तर जेसिबी लैजान भारतको वाल्मीकि टाईगर रिजर्भको वन क्षेत्रको बाटो प्रयोग गर्ने अनुमति भारतिय पक्षले नदिदाँ बजेट फ्रीज भएको थियो ।

बजेट फ्रीज भए पछि अलपत्र रहेको पहुँच मार्गलाई स्थानियले आफ्नै सक्रियतामा निर्माण गर्न सुरु गरेका हुन । ज्यालादारी मजदुर र स्थानियको श्रमदानको सहयोगमा करिब २९ सय मिटर लामो पहुँच मार्ग निर्माण को अन्तिम चरणमा पुगेको विनयी त्रिवेणी वडा नं ६ का अध्यक्ष नुरेन्द्र शाहले बताए । पहुँच मार्गमा पर्ने २ वटा डाँडामा पहिरोको कारण समस्या आएकोले  स्थानियको श्रमदानको सहयोगमा कामलाई अगाडी बढाईएको शाहले जानकारी दिए ।

झोलुङ्गे पुल निर्माण सम्पन्न भएको २ वर्ष पछि वाल्मीकि आश्रम पुग्नका नेपाली बाटो भएर बन्न लागेको पहुँच मार्ग निर्माणका छुट्टाईएको बजेट फ्रीज भए पछि केही आर्थिक सहयोग उठाएर ज्यालादारी मजदुर समेत लगाएर काम गरिएको वडा अध्यक्ष शाहले बताए ।

झोलुंगे पुलको पश्चिम तर्फ नेपाली सेनाको चेकपोस्ट निर्माणको काम समेत सकिएको र पहुँच मार्गको काम सम्पन्न हुन साथ झोलुंगे पुल भएर वाल्मीकि आश्रम पुग्न सकिने गजेन्द्रमोक्षा दिव्य धाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रस्वर भुसालले बताए । यो पहुँच मार्गको काम सकिएर सन्चालनमा आए नेपाल तथा भारतबाट आउने धार्मिक पर्यटक सहज र सुलभ तरिकाले वाल्मीकि आश्रम पुग्ने भुसालले बताए ।

भौगोलिक हिसाबले चितवनको माडी नगरपालिका–१ मा रहेको वाल्मीकि आश्रम चितवनको सडक सञ्जालसँग जोडिएको छैन भने आश्रम पुग्ने जो कोहीले हिउँदमा डुङ्गा र वर्षायाममा पूर्वपश्चिम राजमार्गको बर्दघाट बजारबाट २८ किलोमिटर दक्षिणमा रहेको त्रिवेणीमा नारायणी नदीमाथि बनेको गण्डक बाँध  कटेर भारत विहार राज्यको वाल्मीकि नगर हुँदै वाल्मीकि टाइगर रिजर्भको जङ्गल पार गरेर  वाल्मीकि आश्रम  पुग्नुपर्ने बाध्यता थियो ।

भारतको बाटो प्रयोग गरेर आश्रम पुग्ने नेपाली तीर्थयात्रीलाई भारतीय सीमा सुरक्षा बलले निकै कडाइ गर्ने गरेका छन् । बाटोमा पर्ने वाल्मीकि टाइगर रिजर्भ वनपोस्टमा टिकट नै काट्नुपर्ने र भारतीय सुरक्षा पोस्टमा ठाउँठाउँमा सोधपुछ हुने हुँदा नेपाली तीर्थयात्रीलाई सहजै आश्रममा पुग्न कठिन हुने गरेको र पुल र पहुँच मार्ग निर्माण भएसँगै नेपालकै बाटो प्रयोग गरेर आश्रममा पुग्न सहज हुने र यसले त्रिवेणी र यस क्षेत्रको धार्मिक पर्यटनमा थप टेवा पुर्‍याउने वडाअध्यक्ष शाहले बताए ।तस्बिर सौजन्य :वडा अध्यक्ष नुरेन्द्र शाह

प्रकाशित : २०८१ साउन १५ गते १९:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI