नवलपुरमा ३४ हजार बढी सवारी साधन ट्राफिक कार्वाहीमा, २ करोड ८७ लाख राजस्व

NAWALPUR TIMES
प्रकाशित : २०८१ साउन ११ गते २०:०१
नवलपुरमा ३४ हजार बढी सवारी साधन ट्राफिक कार्वाहीमा, २ करोड ८७ लाख राजस्व

कावासोती । गत आ.व २०८०/८१ मा नवलपुरमा ट्राफिक नियम उलंघन गर्ने ३४ हजार २ सय ३५ सवारी साधन ट्राफिक कार्वाहीमा परेका छ्न । सवारी साधनलाई गरिएको ट्राफिक कार्वाहीबाट गत आ.व ०८०/८१ मा २ करोड ८७ लाख ५४ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक अच्युतराज आचार्यले बताए ।

प्रमुख आचार्याका अनुसार एक वर्षको अवधिमा मोटरसाइकल १३ हजार ४ सय ६४, जिप, र कार ६ हजार ८ सय ७० वटा, ट्रक, टिपर ८ हजार ३ सय ८८ वटा, बस ३ हजार २५ वटा ,ट्याक्टर एक हजार ३६ वटा तथा अन्य एक हजार चार सय ५२ सवारीसाधन ट्राफिक कार्वाहीमा परेका हुन ।

आ.व०७८/७९ मा ३१ हजार १ सय ९३ सवारी साधन कार्वाहीमा परेका थिए भने २ करोड ११ लाख ८१ हजार ५ सय रुपिया राजस्व संकलन भएको थियो भने आ.व ०७९/८० मा ३७ हजार ९ सय ५ सवारी साधन कार्वाहीमा पर्दा ३ करोड १० लाख राजस्व संकलन भएको प्रमुख आचार्यले जानकारी दिए ।

सवारी दुर्घटनाको एउटा प्रमुख कारण रहेको मादक पदार्थ सेवन गरेर सवारी चलाउनु रहेको बताउदै प्रमुख आचार्यले गत आ.वमा ४ हजार ९ सय ४६ जनालाई मादक पदार्थ सेवन गरेर सवारी चलाए बापत कार्वाही गरेको बताए । मापसे गरेर सवारी चलाएकालाई कार्वाही गर्दा ५२ लाख ६१ हजार राजस्व संकलन भएको हो । आ.व ०७८/७९ मा मापसे गरेर सवारी चलाएका १ सय ९० जनालाई कार्वाही गर्दा १ लाख ९० हजार, ०७९/८० मा ६ सय ४६ जनालाई कार्वाही गर्दा १२ लाख ३९ हजार राजस्व संकलन भएको आचार्यले जानकारी दिए ।

जिल्ला ट्राफिक कार्यालयले दुर्घटना न्यूनीकरण गर्न गत आर्थिक वर्षमा २ हजार ८ सय १० पटक विभिन्न जनचेतनामूलक कार्यक्रम गरेको छ । जनचेतना कार्यक्रमबाट एक लाख पचहत्तर हजार दुई सय ३८ जना लाभान्वित भएको प्रमुख आचार्यले बताए ।

प्रकाशित : २०८१ साउन ११ गते २०:०१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI