तीन वर्षमा नवलपुरमा सवारी दुर्घटनामा १ सय १५ जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८१ साउन ११ गते १७:३७
तीन वर्षमा नवलपुरमा सवारी दुर्घटनामा १ सय १५ जनाको मृत्यु

सन्जय भट्टराई, कावासोती । नवलपुरमा सवारी दुर्घटनाबाट पछिल्लो तीन वर्षमा एक सय १५ जनाको मृत्यु भएको छ । २०७८ साउन यता एक सय १५ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको जिल्ला ट्राफिक कार्यालयको तथ्यांक छ।

जिल्ला ट्राफिक कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा (०७८/७९ देखि ०८०/०८१ सम्म) नवलपुरमा ३ सय ६ वटा सडक दुर्घटनामा भएको रेकर्ड छ । यो अवधीमा १ सय १५ जनाले सवारी दुर्घटनामा ज्यान गुमाए । २ सय ८८ जना गम्भीर र ३ सय २३ जना सामान्य घाइते भए ।

तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९ मा ९५ वटा दुर्घटना भएका छन् भने दुर्घटनामा परि ज्यान गुमाउनेको सख्या ४० छ। त्यस्तै आर्थिक वर्ष २०७९/०८० मा ७६ वटा दुर्घटनामा ज्यान गुमाउनेको सख्या २९जना छ। चालु आर्थिक वर्ष २०८०/०८१ मा १सय ३५ सवारी दुर्घटना भएकामा ज्यान गुमाउनेको संख्या ४६ छ।

जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक अच्युतराज आचार्यका अनुसार सडक दुर्घटनाको कारण सडकको अवस्था, चालकको लापरबाही, तीव्र गति, मदिरा सेवन गरेर सवारी चलाउनु, सडकमा छाडा चौपाया, पैदल यात्रुले जथाभावी सडक पार गर्नु र क्षमता भन्दा बढी यात्रु बोक्दा सवारी दुर्घटना हुने गरेका छ्न ।

उनका अनुसार नवलपुरमा मुख्य सडक भन्दा पनि भित्री सडकहरुमा दुर्घटना धेरै हुने गरेका छ्न । उनका अनुसार सबैभन्दा बढी मोटरसाइकल, स्कुटर दुर्घटना हुने गरेका हुन ।

 

३४ हजार बढी सवारी साधन ट्राफिक कार्वाहीमा

यसै बिच गत आ.व २०८०/८१ मा नवलपुरमा ट्राफिक नियम उलंघन गर्ने ३४ हजार २ सय ३५ सवारी साधन ट्राफिक कार्वाहीमा परेका छ्न । सवारी साधनलाई गरिएको ट्राफिक कार्वाहीबाट गत आ.व ०८०/८१ मा २ करोड ८७ लाख ५४ हजार राजस्व संकलन भएको प्रमुख आचार्यले बताए ।

जिल्ला ट्राफिक कार्यालयले आ.व०७८/७९ मा ३१ हजार १ सय ९३ सवारी साधन कार्वाहीमा परेका थिए भने २ करोड ११ लाख ८१ हजार ५ सय रुपिया राजस्व संकलन भएको थियो भने आ.व ०७९/८० मा ३७ हजार ९ सय ५ सवारी साधन कार्वाहीमा पर्दा ३ करोड १० लाख राजस्व संकलन भएको प्रमुख आचार्यले जानकारी दिए ।

सवारी दुर्घटनाको एउटा प्रमुख कारण रहेको मादक पदार्थ सेवन गरेर सवारी चलाउनु रहेको बताउदै प्रमुख आचार्यले गत आ.वमा ४ हजार ९ सय ४६ जनालाई मादक पदार्थ सेवन गरेर सवारी चलाए बापत कार्वाही गरेको बताए । मापसे गरेर सवारी चलाएकालाई कार्वाही गर्दा ५२ लाख ६१ हजार राजस्व संकलन भएको हो । आ.व ०७८/७९ मा मापसे गरेर सवारी चलाएका १ सय ९० जनालाई कार्वाही गर्दा १ लाख ९० हजार, ०७९/८० मा ६ सय ४६ जनालाई कार्वाही गर्दा १२ लाख ३९ हजार राजस्व संकलन भएको आचार्यले जानकारी दिए ।

जिल्ला ट्राफिक कार्यालयले दुर्घटना न्यूनीकरण गर्न गत आर्थिक वर्षमा २ हजार ८ सय १० पटक विभिन्न जनचेतनामूलक कार्यक्रम गरेको छ । जनचेतना कार्यक्रमबाट एक लाख पचहत्तर हजार दुई सय ३८ जना लाभान्वित भएको प्रमुख आचार्यले बताए ।

प्रकाशित : २०८१ साउन ११ गते १७:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI