नारायणघाट बुटवल सडक : तेस्रो पटक एक वर्षको म्याद थपिदैँ

NAWALPUR TIMES
प्रकाशित : २०८१ साउन १० गते १६:५९
नारायणघाट बुटवल सडक : तेस्रो पटक एक वर्षको म्याद थपिदैँ

कावासोती । ४२ महिनामा काम सम्पन्न गर्ने गरि २०७५ को माघमा ठेक्का सम्झौता भएको नारायणघाट बुटवल सडकको काम ५२ प्रतिशत मात्रै भए पछि तेस्रो पटकका लागि थप एक वर्षको म्याद थपिने भएको छ ।

यस आयोजना अन्तर्गत गैँडाकोट देखि दाउन्ने सम्म पूर्वी खण्डमा ६४.४२ किलोमिटर र दाउन्ने देखि बुटवल राजमार्ग चौराह सम्म पश्चिम खण्डको ४८.५८ किलोमिटर र दुई वटा खण्ड छन्।

यी दुवै खण्डमा तोकिएको समयमा कामको प्रगति न्यून भएपछि रुख कटान, बिजुलीको पोल सार्न ढिलाइ, कोरोना लगायतका कारण देखाएर पूर्वी खण्डको २०८० भदौ ११ र पश्चिम खण्डको २०८० साउन ११ गते सम्मका लागि पहिलो पटक म्याद थपिएको थियो भने दोस्रो पटक २०८१ साउन ८ गते सम्मका लागि म्याद थपियो ।

दोस्रो पटक थपिएको म्याद यही साउन ८ गते सकिएको छ। तेस्रो पटक फेरी एक वर्ष २०८२ को साउन ६ गते सम्मलाई म्याद थप गर्ने तयारीमा सडक विभाग रहेको आयोजनाका पुर्वी खण्डका प्रमुख आशिष मगरले बताए ।

सुरु देखि नै सीमित उपकरण र जनशक्तिले काम चलाउँदै आएको निर्माण कम्पनीले आफ्नो कार्यशैली परिवर्तन गरेन भने थपिएको एक वर्षमा पनि काम सम्पन्न नहुने निश्चित छ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाका विभिन्न समिति सभापति नेतृत्वको टोलीले पटक-पटक अनुगमन गरेर छिटो काम सक्न निर्देशन दिए पनि कामको गति बढ्न सकेको छैन । भौतिक मन्त्री फेरिए पिच्छे यो सडकको अनुगमनमा पुगेर काम सक्न निर्देशन दिए पनि निर्माण व्यवसायीले सुने नसुनेझैं गर्ने गरेका छन् ।

यो सडक आयोजना कुल १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ छ । को लागतमा निर्माण सम्पन्न हुने भनिएको छ। पटक पटक म्याद थपिदै जाँदा आयोजनाको लागत समेत बढने देखिएको छ । कुल लागतको ८५ प्रतिशत एडिविको ऋण सहुलियत हो। बाँकी १५ प्रतिशत नेपाल सरकारको लगानी छ।

प्रकाशित : २०८१ साउन १० गते १६:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI